दाङ, २९ कार्तिक । दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जनाले ज्यान गुमाएका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार दशै र तिहारको अवधिमा प्रदेश नं. ५ मा ४१ जनाले ज्यान गुमाए भने ६६२ घाइते भए ।
दशैँ र तिहारलाई लक्षित गरेर प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा प्रहरी उच्च सुरक्षा सतर्कता अपनाउदा अपनाउदै पनि यी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यसरी सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २६४ मोटरसाइकल, ५२ जीपकार, २१ बस, ट्र्याक्टर १७, ट्रक, ट्र्याङ्कर १२ , माइक्रो पाँच, टिपर चार, टेम्पो चार, रिक्सा ३१ र अन्य गरी ४५४ सवारी साधन दुर्घटनामा संलग्न रहेका छन् । सबैभन्दा बढी सवारी दुर्घटना बाँके जिल्लाका भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।
यसैगरी यो अवधिमा ट्फिक नियम विपरीत सवारी साधन चलाउने १७ हजार ३६२ चालकलाई कारवाही गर्दा १ करोड १० लाख सात हजार राजश्व सङ्कलन भएको छ।
