काठमाडौं, २९ कार्तिक । संविधानले व्यवस्था गरेको मुलुकको नयाँ संरचनाअनुसार केन्द्रदेखि मतदान केन्द्रसम्मको संरचनाको विधान तयार गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान समितिमा गुटगत किचलो बढेको छ ।

cogresविधान समितिलाई विधानको खाका तयार गर्ने अधिकार भए पनि विधान बनाउने क्रममा पार्टीको गुट हावी हुँदा के कस्तो प्रावधान राख्ने भन्नेमा किचलो देखिएको हो ।

हाल कांग्रेसभित्र विधानमा सभापतिको अधिकार, पदाधिकारी संख्या, निर्वाचन पद्धति, संसदीय ९बोर्ड० समितिको चयन प्रक्रिया, सदस्यता वितरण प्रक्रिया र विशेष अवस्थाको व्याख्याका विषयमा मूल विवाद रहँदै आएको छ आजको राजधानीमा खबर छ ।

सभापति शेरबहादुर देउवानिकट नेताहरू विधानमा सभापतिलाई बलियो बनाउने गरी पदाधिकारी संख्या बढाउने र केही पदाधिकारी निर्वाचनमार्फत र केही मनोनीत गर्ने गरी विधानमा व्यवस्था गर्ने पक्षमा छन् ।

यस्तै संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेता कृष्णप्रसाद सिटौला समूह भने निर्वाचन प्रक्रियामार्फत नै पार्टीका सबै पदाधिकारी चयन गर्नुपर्ने पक्षमा छन् । विधान समितिका प्रवक्तासमेत रहेका नेता रमेश लेखकले विधानमा गरिने व्यवस्थाका विषयमा समितिभित्र केही असमझदारी रहेको जनाए ।

‘विधानको काम जारी नै छ तर केही साथीले फरक मत राख्नुभएको छ । छलफल हुँदै छ, निर्वाचन प्रक्रिया र संसदीय समितिको चयनका विषयमा केही फरक कुरा आएका छन्,’ नेता लेखकले राजधानीसँग भने ।

विधान समितिका सदस्य नेता प्रदीप पौडेलले गएको केन्द्रीय समिति बैठकपछि विधान समितिको बैठक नै नबसेको जनाए । उनले पदाधिकारी संख्या, सभापतिले मनोनीत गर्ने संख्या, संसदीय समिति तथा विशेष अवस्थाको व्याख्याका विषयमा कुरा नमिलेको जनाए ।

‘गएको केन्द्रीय समिति बैठकपछि विधान समितिको बैठक नै बसेको छैन, पदाधिकारी संख्या, सभापतिले मनोनीत गर्ने संख्या, संसदीय समितिसहित विशेष अवस्थाको व्याख्याबारे कुरा मिल्न बाँकी छ,’ नेता पौडेलले भने ।