कञ्चनपुर, २९ कार्तिक । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ ।

20180911_073225न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो । ‘उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरूको गतिविधिमाथि सूक्ष्म ढंगले निगरानी भइरहेको छ,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले भने। अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार निर्मलाका केही आफन्तलाई पनि निगरानीमा राखिएको छ ।

प्रहरीले गाउँलेसँगै अन्य क्षेत्रमा पनि अनुसन्धान जारी रहेको जनाएको छ । शंकास्पद व्यक्तिका टेलिफोन, फेसबुकलगायतमा पनि निगरानी बढाएको छ । त्यसका आधारमा दुई सयभन्दा बढी व्यक्तिसँग बयानसमेत लिएको छ । ‘केहीको मौखिक र केहीको लिखित बयान लिएका छौँ,’ एसपी कडायतले भने ।

१० साउनमा कापी लिन साथीको घर गएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला ११ साउनमा उखुबारीमा मृत भेटिएकी थिइन् । त्यसयता वडा प्रहरी, जिल्ला र प्रदेश प्रहरीसँगै सिबिआईको टोली पनि अनुसन्धान खटिएको थियो । गृह मन्त्रालय र प्रहरी मुख्यालयको उच्चस्तरीय टोलीसमेत छानबिनमा खटिए पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।

थप तीनको डिएनए परीक्षणको तयारी
डिएनए परीक्षण गरिएका शंकास्पद व्यक्तिको रिपोर्ट सकारात्मक आउनेमा प्रहरी पनि आश्वस्त छैन । एसपी कडायतले यसमा अहिल्यै केही भन्न नसकिने बताए । ‘उनीहरू चारैको मिल्न पनि सक्छ, कसैको नमिल्न पनि सक्छ । अहिल्यै केही भन्न सकिँदैन,’ उनले भने ।

प्रहरी शंकास्पद थप तीनजनाको डिएनए परीक्षणका लागि पनि तयारी अवस्थामा छन् । त्यसपछि अर्को चरणमा सन्दिग्ध घेरामा राखिएका गाउँका केही व्यक्तिको डिएनए परीक्षण गर्ने योजना बनाएको छ ।

यसअघि अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका दीलिप विष्ट, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण भएपनि निर्मलाको भेजिनल स्वाबमा भेटिएको पदार्थसँग मेल खाएको थिएन । नयाँ पत्रिकाबाट