दाङ, २८ कार्तिक । साविक राप्ती उपक्षेत्रीय अस्पलात परिषरभित्र निर्माणधिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणको रहस्यमय ढंगबाट रोकिएको छ ।

raptiस्वास्थ्य प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले असोज २८ गते भवन निर्माणको जिम्मेवारी पाएको एम.के÷दिवा जे.भी.लाई पत्र लेखेर अर्काे आदेश नभएसम्म लागि भन्दै भवनको निर्माण कार्य रोक्न निर्देशन दिएका छन् ।

प्याकुरेलले उक्त पत्रमा भवन निर्माणका लागि बजेट अभाव भएको उल्लेख गरेका छन् । प्रतिष्ठानको निर्देशनसँगै भवन निर्माणको काम रोकिएको छ । ‘प्रतिष्ठानमा बजेटको सुनिश्चिता भइ नसकेको हुँदा प्रतिष्ठानको अर्को आदेश नभएसम्मका लागि निर्माण कारवाही अगाडी नबढाउन निर्णय अनुसार अनुरोध गर्दछु’ पत्रमा उल्लेख छ ।

भवनको निर्माण कार्य रोकिएको मात्रै छैन सो भवन निर्माण गर्दाको समयमा कम्पनीका कामदारले प्रयोग गर्दै आएका टहरा समेत १५ दिनभित्र खाली गर्न निर्देशन दिइएको छ । यसले भवन निर्माणको कार्य रोक्नुमा झन रहस्य फैलाएको छ ।

भवन निर्माणका लागि बजेट अभाव देखाइए पनि बजेट अभाव नभएको स्वास्थ्य मन्त्रालयका योजना महाशाखा प्रमुख डा. विकास देवकोटाले बताए । । ‘ यो भवन बहुबर्षिय योजना अन्तर्गतको कार्य भएकाले प्रगतिका आधारमा बजेट विनियोजन हुन्छ, हामीलाई यसको बारेमा औपचारिक जानकारी आएको छैन,’ प्रमुख देवकोटाले भने, ‘प्रतिष्ठानको भवन निर्माणका लागि बजेट अभाव हुने भन्ने कुरै हुँदैन ।’

तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महरा हुँदा २०७३ पुस ११ गते अर्थ मन्त्रालयले बहुबर्षिय योजना अन्तर्गत सो मल्टी प्रपोज भवनका लागि बजेट सुनिश्चित गरिएको थियो । भवन निर्माणको शिलान्यास तत्कालिन अर्थमन्त्री महराले नै गरेका थिए ।

प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारी पुरानो ठेक्का तोडेर नयाँ ठेक्का गर्ने मनस्थितिमा पुगेको प्रतिष्ठान स्रोतले जनाएको छ । अहिलेको ठेकेदार राप्ती उपक्षेत्रीय अस्पतालले नियुक्त गरेकाले उसँग काम गर्न भण्डारी अनिच्छुक देखिएको स्रोतको दावी छ । प्रतिष्ठानमा पछिल्लो समय उपकुलपति भण्डारीले मनोमानी ढंगले काम गर्दै आएको जनगुनासो छ ।

उपकुलपति भण्डारीले कर्मचारी नियमावली नबनाएरै आफू खुशी डाक्टर तथा कर्मचारी भर्ना प्रकृया शुरु गरेकी छन् । पुराना काम गरिरहेका डाक्टर तथा कर्मचारीरु प्रति पूर्वाग्रही ढंगले व्यवहार गर्न थालेको त्यहाँ कार्यरत कर्मचारीहरुको गुनासो छ ।