काठमाडौं, १२ कार्तिक । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैँअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

husuतापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ । यद्यपि, दिउँसोको समयमा भने तापक्रम केही बढी छ । १९ असोजमा मनसुन सकिएपछि पश्चिमी वायुको प्रभाव बढ्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । ‘राजधानी काठमाडौंलगायत देशैभर बिहान–बेलुका चिसो बढेको छ,’ मौसमविद् शान्ति कँडेलले भनिन्, ‘तराई–मधेसका केही जिल्लामा हुस्सु लाग्न थालेको छ भने चिसो पनि बढेको छ ।’

१५ मंसिरदेखि १५ माघसम्मका २ महिनामा सबैभन्दा बढी चिसो हुने महाशाखाले जनाएको छ । सो अवधिमा तराई–मधेसका जिल्लामा शीतलहर चल्ने गरेकाले कठ्यांग्रिएर बर्सेनि थुप्रैले ज्यान गुमाउँदै आएका छन् । सो अवधिमा हरेक वर्ष सरदर सयजनाको मृत्यु हुने गरेको गृह मन्त्रालयले जनाएको छ । त्यसैले यसवर्ष मानवीय क्षति कम गर्न विशेष तयारी सुरु गरिएको गृहको भनाइ छ ।

गृह मन्त्रालयले दियो निर्देशन
चिसो अत्यधिक बढी हुने र मानवीय क्षतिको सम्भावना बढी रहने जिल्लालाई विशेष प्राथमिकतामा राखिएको गृह मन्त्रालयको भनाइ छ । मन्त्रालयले त्यस्ता जिल्लाको सूची तयार पारी त्यहाँका बासिन्दालाई लक्षित गर्दै राहत तथा संकटको अवस्थामा तत्काल उद्धारका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

‘हिमाली र तराई–मधेसका जिल्लावासी चिसोबाट सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् । ती जिल्लाका सरोकारवाला निकायलाई राहत र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ,’ प्रवक्ता सुवेदीले भने । चिसोबाट प्रभावित परिवारलाई न्यानो लुगा, कम्बल, औषधिलगायत राहत रकमको समेत व्यवस्था गरिसकिएको सुवेदीले बताए । चिसोबाट बच्न सर्वसाधारण आफैँले पनि सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

चिसोमा प्रदूषण पनि बढ्ने
जाडो मौसममा प्राकृतिक र मानवीय गरी दुई कारणले प्रदूषण बढ्ने वातावरणविद् भूषण तुलाधरले बताए । जाडो मौसममा कम पानी पर्ने भएकाले धेरै प्रदूषण हुने उनको भनाइ छ । ‘काठमाडौं उपत्यका चारैतिर पहाडले घेरिएको कचौराजस्तै छ । जाडोमा कम हावा चल्ने भएकाले पास हुन पाउँदैन,’ तुलाधरले भने, ‘यसरी बनेको उपत्यकामा वायु दिउँसो जमिनमाथि जाने र बिहान–बेलुका तल झर्ने भएकाले धेरै प्रदूषण हुन्छ ।’

जाडो मौसममा इँटाभट्टा व्यवसायीले उद्योग सञ्चालन गर्न थाल्ने भएकाले पनि प्रदूषण बढ्ने वातावरणविद् तुलाधरले बताए । ‘अत्यधिक जाडो बढ्दै गएपछि प्लास्टिक बालेर आगो ताप्दा पनि प्रदूषण बढ्छ,’ उनले भने, ‘वर्षाको तुलनामा जाडो मौसममा तीन गुणासम्म प्रदूषण बढ्ने सम्भावना रहन्छ ।’ नयाँ पत्रिकाबाट