सल्यान, ११ कार्तिक । सल्यानबाट दाङसम्म सुरुङ मार्ग खोलिने भएको छ । जिल्लाको त्रिबेणी गाउँपालिकाको लुहामबाट दाङको तुलसीपुरसम्म ५ देखि ७ किमि लामो सुरुङ मार्गबाट सडक बनाउन लागिएको त्रिवेणी गाउँपालिकाले बताएको छ ।

surugअहिले सडक मार्गबाट यहाँको दूरी ४० किमि लामो पर्दछ । गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले त्यसका लागि सम्भाव्यता अध्ययन गरिने जानकारी दिएका छन् । ‘लुहामदेखि तुलसीपुरसम्मको राप्ती राजमार्गमा लाग्ने सबै खर्चले सुरुङ मार्ग बनाउन सकिन्छ’ उनले भने, ‘त्यसको लागि गाउँपालिकाले पहल कदमी अगाडि बढाएको छ ।’

उनले यसलाई मुलुककै गौरबको आयोजना भएको बताए । यहाँ सुरुङ मार्ग खोल्दा सल्यान, रुकुम र जाजरकोटका नागरिकलाई सहज हुने उनको भनाई छ । ‘यो गौरवको आयोजना हो, यो निर्माण भएमा दाङ सल्यान गर्न समय लाग्दैन्, सजिलो हुन्छ’— उनले भने ।

लुहामदेखि तुलसीपुरसम्म राप्ती राजमार्ग ४० किलोमिटर भएको भन्दै उनले सुरुङ मार्ग खोल्दा ५ देखि ७ किलोमिटरसम्म मात्रै हुने बताएका छन् । अभियान दैनिकमा खबर छ- सुरुङमार्गको सम्भाव्यता अध्ययनको लागि गाउँपालिकाबाट अर्को बर्ष बजेट विनियोजन गरिने उनले बताए ।