पोखरा, ९ कार्तिक । पोखरामा आजदेखि पोखरा प्रिमियम लिग शुरु भएको छ । खेलको उद्घाटन सभामुख कृष्णबहादुर महरा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सयुक्त रुपमा गरेका थिए ।

maharaखेलको उद्घाटन गर्दै सभामुख महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन् । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै उनले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताए ।

हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका विभिन्न पक्षलाई देश विदेशमा पु¥याउने सभामुख महराले बताए । नेपाल दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको र यी दुवैलाई जोड्न सक्ने क्षेत्रका रुपमा पोखरा रहेको उनले उल्लेख गरे ।

खेलको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी मात्र नभई खेलकूदको राजधानीसमेत बनाउन सकिने बताए । प्राकृतिक सुन्दरताले भरिभराउ पोखरामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसक्ने किसिमले पूर्वाधार विकास गर्नुपर्ने उनको भनाइ थियो । कार्तिक ३० गतेसम्म चल्ने उक्त प्रतियोगिताका विजेताले सिल्डसहित २७ लाख पुरस्कार प्राप्त गर्ने भने उपविजेताले १० लाख पुरस्कार प्राप्त गर्नेछ ।