असार, १९ काठमाडौं । आजदेखि सेवाग्राहीले एकै दिनमै राहदानी पाउने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री मन्त्री कमल थापाले आइतबार सो सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
चन्द्रकाली बुढाथोकीलाई २५ मिनेटभित्रै राहदानी प्रदान गर्दै थापाले सो सेवाको औपचारिक उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै थापाले भने, ‘एकै दिनमा राहदानी पाउने व्यवस्था हुने इतिहासको कोसेढुंगा हो । तर, १५ हजारमा मात्र यो पाइने हुँदा यो सेवा पैसा हुनेका लागि मात्र सहज हुने देखियो । ५ हजारमै सर्वसाधारणले यही सेवा पाउने भए झनै राम्रो हुने थियो ।’
यसअघि राहदानी विभागले द्रुतसेवा अन्तरगत ७ दिनमा राहदानी दिने व्यवस्था रहेकोमा गत कार्तिक देखि ५ दिनमा दिने व्यवस्था गरेको थियो । त्यस्तै अषाढ १९ देखि १० हजारमै लिई ३ दिनमा नै राहदानी दिने व्यवस्था गरेको थियो ।
नयाँ व्यवस्था अनुसार १५ हजार रुपैयाँ तिरे आवदेन पेश गरेकै दिनमा र १२ हजार रुपैया दिने दोस्रो दिनमा राहदानी पाउन सकिनेछ ।
सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै आवेदकले आफै कम्प्युटरबाट फारम भरी विभागमा पठाउन सक्ने गरी पूर्व फारम दर्ता प्रणाली पनि समेत लागु गरिएको छ । अबदेखि राहदानी विभागबाट सेवा लिन चाहने व्यक्तिहरुले फारम भर्ने तथा छुट्टै फोटो खिच्नुपर्ने छैन ।
अनलाइन फारम भरी बारकोड लिने तथा नागरिकताको सक्कल तथा सोको आधिकारिता प्रमाणित गरी जिल्ला प्रशासन कार्यालयले दिएको सिफारिश पत्र लिएर सिधै राहदानी विभाग आउन सकिनेछ ।
रातोपाटी बाट
