काठमाडौं, २४ असोज । नेपालीले मासिक नौ अर्ब रुपैयाँको खसीबोकाको मासु खाने गरेको पाइएको छ। उपभोक्ता मूल्यलाई आधार मान्दा देशभर मासिक नौ अर्ब २८ करोड ८० लाख रुपैयाँको मासु खपत हुने देखिएको छ।

khasiमासु खानकै लागि नेपालीले वार्षिक एक खर्ब ११ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खर्च गर्छन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छ। तीमध्ये झण्डै तीन लाख ८४ हजार दुई सय दुई गोटा स्वदेशमै उत्पादन हुन्छन्। अपुग करिब ४५ हजार सात सय ९८ देखि पाँच हजार गोटा भने भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात गरिन्छ। आयात हुनेमध्ये करिब ७० देखि ८० प्रतिशत हिस्सा भारतको छ।

स्वदेश र आयातित खसीबोका औसत ३० किलोका हुन्छन्। ३० किलोका खसीबोकाको २४ किलो तयारी मासु बन्छ। एक किलो खसीको मासुको उपभोक्ता मूल्य औसत नौ सय रुपैयाँ पर्छ। स्वदेशी उत्पादन तीन लाख ८४ हजार दुई सय दुई गोटाबाट औसत ९२ लाख २० हजार किलो मासु तयार हुन्छ। यस्तै विदेशबाट आयात हुने ४५ हजार सात सय ९८ गोटाबाट १० लाख ९९ हजार एक सय ५२ किलो मासु तयार हुन्छ। दसैंंलगायत चाडवाडको तथ्यांक भने यो परिमाणमा जोडिएको छैन।

दसैंंमा सामान्य दिनभन्दा झण्डै १० दोब्बर हाराहारीमा खसीबोकाको मासु कारोबार हुन्छ। दसैंंमा हुने कारोबारलाई जोड्ने हो भने वार्षिक करिब डेढ खर्बभन्दा बढीको मासु नेपालीले खाँदै आएका छन्। दसैंका लागि ५७ करोड ६० लाख रुपैयाँका ३६ हजार गोटा खसीबोका आयात गरिन्छ।

चौपाया खरिदबिक्री सेवा संघका अनुसार सहरीकरण र जीवनस्तरमा आएको सुधारसँगै नेपाली उपभोक्तामा मासु खाने प्रचलन बढेको छ। विगतमा लेदो मासुमा रमाउने उपभोक्ता अहिले विविध परिकारको स्वादमा रमाउन थालेका छन्। साना रेस्टुरेन्टदेखि पाँच तारे होटेलसम्मले अहिले खसीबोका मासुका परिकार मेनुमा पस्किन थालेपछि उपभोग दर बढेको छ। ‘खसीबोकाको मासुबाट बनाइने विभिन्न प्रकारका परिकारका कारण पनि खपत बढ्दै गएको हो’, संघका अध्यक्ष गोविन्द पाठकले भने।