काठमाडौं, २३ असोज। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका विषयमा छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसन्धानका लागि गाइडलाइन भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले अन्य पाटाबाट थप अनुसन्धान अघि बढाउन थालिएको दाबी गरेको छ ।

bistप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापाले डीएनए म्याच नभएपछि अनुसन्धानको पाटो नै सकिएको भन्ने आमबुझाइ चिर्न प्रहरीले अन्य पाटोबाट समेत अनुसन्धानलाई जारी राखेको जनाए ।

‘डीएनए म्याच भएन अब अनुसन्धानका सबै बाटो बन्द भए भन्ने बुझाइ धेरैमा परेको छ, हामीसँग अनुसन्धानका अन्य धेरै पाटा छन्, सबै पाटोबाट अनुसन्धान गर्दै छौं,’ प्रवक्ता थापाले राजधानीसँग भने, ‘अब सरकारी प्रतिवेदनलाई गाइडलाइन प्रिन्सिपलका रूपमा लिएर थप अनुसन्धान अघि बढ्छ ।’

प्रहरीसँग पोस्टमार्टम रिपोर्ट, घटनास्थलबाट प्राप्त मुचुल्कासहित अन्य थुप्रै प्रमाण र अन्य आधारमा सूक्ष्म अनुसन्धान भइरहेको बताए । राजधानीमा खबर छ – प्रतिवेदनलाई नै आधार मानेर सोमबार मात्रै प्रहरी नायब निरीक्षक (सई)हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको छ ।

चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । उनीहरूको गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएको प्रहरीले प्रस्ट्याएको छ । यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपीद्वय अंगुर जीसी र ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो ।

निर्मलाको गत १० साउनमा बलात्कारपछि हत्या भएको थियो । तर, प्रहरीले अझैसम्म अपराधी पत्ता लगाउन नसकेपछि आलोचना भएको छ । उच्चस्तरीय छानबिन समितिले प्रहरी अनुसन्धान फितलो र शंकास्पद भएको भन्दै फेरि पनि सूक्ष्म अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
प्रहरीले घटनामा उदासीनता देखाएको, निर्दोषलाई पक्राउ गरेको, आफैंले संकलन गरेको घटनाको मुचुल्का नमुना पुनः सच्याउन लगाएको तर पछि अघिल्लै मुचुल्का ठीक भएको, अनुसन्धानमा कुकुरको प्रयोग नगरेकोलगायत कमजोरी प्रतिवेदनमा औंल्याइएको छ ।

हत्या भएको ठाउँमा बलात्कार हुन नसक्ने, निर्मलाका बुबा भारतबाट ११ गते मात्र कञ्चनपुर आए पनि १० गतेकै मितिमा उनको औंठाछाप लगाएको, हत्यापछि अम्बाको रूख काटिएको आदि शृंखलाले घटनाका प्रमाण नष्ट गर्ने योजना रहेको प्रतिवेदनले पुष्टि गरेको छ ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ७ भदौमा गठित पाँच सदस्यीय छानबिन समितिले मृतक निर्मलाको हत्या घटनासँग सम्बन्धित प्रमाण संकलनमा खटिएका प्रहरीको लापर्बाही र हेलचेक्र्याइँ देखिएको उल्लेख छ । निर्मला हराएको प्रहरीमा जानकारी गराउँदा तत्काल खोजतलासका लागि सम्बन्धित प्रहरी उदासीन रहेको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले निर्मलाको बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण पत्ता लाग्न सक्ने वस्तुहरू भित्री वस्त्र पानीमा चोबलेको, गुप्तांग र तिघ्रा पखालिएको तथा उक्त वस्त्र नै लोप भएको उल्लेख गरेको छ ।

छानबिन समितिले प्रहरी उपरीक्षक ९एसपी० डिल्लीराज विष्टले जिम्मेवारीको क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना पाउँदा पनि उनी घटनास्थलमा नगएको र घटनाको अनुसन्धानमा निर्वाह गर्नुपर्ने पदीय जिम्मेवारी पालना नगरेको ठहर गर्दै छानबिन र कारबाहीको माग गरेको छ ।

निर्मला हत्या घटनाको अनुसन्धान तथा सहयोगीका रूपमा खटिएका प्रहरी तथा कर्मचारीको काम कारबाहीको सम्बन्धमा प्राप्त तथ्य, प्रमाण र घटनाक्रमका आधारमा संलग्नता देखिएमा त्यस्ता पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने सुझाव दिएको छ ।
समितिले पीडित परिवारको सुरक्षालगायत सामान्य जीवनयापन प्रभावित भएको भए राज्यका तर्फबाट पीडित परिवारको सामाजिक पुनःस्थापना गर्नसमेत सुझाव दिएको छ ।