काठमाडौं, २१ असोज । सयौं अपराधी छुटून् तर एक जना निर्दोषले सजाय नपाओस्, त्यसै भनिएको होइन । त्यसैले चाहे जो कोही होस् अभियुक्त लुकाएर लुक्दैन र कानुनी राजका लागि पत्ता लगाउन जरुरी पनि छ ।

20180911_073225कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६३ दिन पुगेको छ । तर हत्या अनुसन्धान शून्यमै छ  । अनुसन्धान लम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । आजको राजधानीमा खबर छ- हत्या भएलगत्तै प्रहरीले सुरुवाती अनुसन्धानमा लापर्बाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसका कारण अनुसन्धान डीएनए र पोस्टमार्टम रिपोर्टमा भर पर्नुपरेको थियो । तर डीएनए पनि नेगेटिभ आएपछि अनुसन्धानको पाटो अब कता भन्ने प्रश्न आमजनमानसमा उब्जेको छ ।

घटनाको अनुसन्धानका लागि ६ टोली खटियो तर अनुसन्धान शून्यमै छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोली, उच्चस्तरीय छानबिन टोलीलगायतका टोलीले अनुसन्धान गरिरहँदा हात लाग्यो शून्य भनेझैं भएको छ ।

निर्मलाको हत्या गरी शव फेला परेकै दिन १० साउनमा गृह मन्त्रालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक अंगुर जीसी नेतृत्वको टोली अनुसन्धानका लागि कञ्चनपुर पुगेर अनुसन्धान थाल्योे ।

प्रहरीले ११ साउनमा उल्टाखामकै स्थानीय चक्र बडू, उनकी बहिनी लक्ष्मी र भाइ गौतमलाई पनि पक्राउ गरी यातना दियो । उनलाई पनि अपराध स्विकार्न र अस्वीकार गरे परिवार नै बर्बाद गरिदिने धम्की तत्कालीन एसपी डिल्ली विष्टले दिएका थिए । १२ साउनमा प्रहरीले दीपक नेगी र जीवन घर्तीमगरलाई पनि पक्राउ गरेको थियो । तर, पछि दुवै जनालाई छाडियोे ।

त्यस्तै, प्रहरीले १८ साउनमा स्थानीय जनज्योति बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढ्ने १७ वर्षीया किशोरी हेमन्ती भट्टलाई पक्रेर पाँच दिनसम्म यातना दिएको थियो । आफन्त पुरुषहरूसँग मिलेर अपराध गरेको बयान दिन नमाने जीवन बर्बाद गराउने धम्की एसपी विष्टले दिएका थिए ।

दिनहुँको आन्दोलन र प्रहरीको आलोचना हुँदा प्रहरीले घटनाको २५ दिनपछि ४ भदौमा भीमदत्त नगरपालिका–१९ का दिलिप विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । तर, निर्मलाको शरीरमा भेटिएको प्रमाणको डीएनए रिपोर्ट दिलिपसँग नमिलेपछि उनी साधारण तारेखमा रिहा भएका छन् । दिलिप रिहा भएसँगै निर्मलाको हत्यारा को हो भन्ने प्रश्न जन्मिएको छ । प्रहरीकै अनुसन्धान झुटो साबित भएपछि प्रहरीमाथि थप चुनौती बढेको छ ।

अझै पनि कञ्चनपुर घटनालाई लिएर सर्वसाधारणमा अनेक आशंका उब्जिएकै छन् । कञ्चनपुर घटनाले प्रहरीका काम कारबाहीप्रति प्रश्न उठेका छन् । घटनामा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्टको कमीकमजोरी भएकै हो भन्ने कुरा राष्ट्रिय मानवअधिकार आयोगको टोली, सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको टोली र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत स्वीकार गरेका छन् ।

एसपी विष्ट नेतृत्वको टोलीले अनुसन्धानमा गम्भीर त्रुटि गरेको भनेर राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरिसकेको छ । एसपी विष्टलाई सरकारले निलम्बनसमेत गरेको छ । उनीसँगै त्यहाँ खटिएका अन्य प्रहरी कर्मचारीमाथि पनि छानबिन भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० टोली दोस्रोपटक महेन्द्रनगर पठायो । आन्दोलन चर्केपछि ८ भदौमा सरकारले सहसचिव एवं कारागार व्यवस्थापन विभागका महानिर्देशक हरीप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो ।

मैनाली नेतृत्वमा तीनवटै सुरक्षा निकायका प्रतिनिधि र प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव सदस्य रहेको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोली महेन्द्रनगर पुगेको थियो । सो टोलीले पनि आवश्यक अनुसन्धान र सूचना संकलन गरिरहेको जनाएको छ ।

आन्दोलन नरोकिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी उपरीक्षक दिल्ली विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अनुसन्धान अधिकृत एकेन्द्र खड्कालाई गृह मन्त्रालयमा तानेर नयाँ सुरक्षा नेतृत्व जिल्लामा पठाएको थियो । सो घटनापछि तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्टलगायत पाँच जना प्रहरी अधिकारीलाई निलम्बनसमेत गरियो तर पनि अनुसन्धानबारे सुईको समेत लाग्न सकेको छैन ।

हत्या तथा बलात्कार प्रकरणको छानबिन गर्न गृह मन्त्रालयबाट गठित समितिलाई तोकिएको १५ दिनको समयावधिभित्रै प्रतिवेदन पेस गर्ने उद्देश्यका साथ प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार पारेर डीएनए टेस्टको कम्प्लिकेसन र १५ दिनभित्र प्रतिवेदन पेस नगरेमा हुन सक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समितिसमक्ष बारम्बार आफ्नो धारणा राख्दै आएका समितिका सदस्य वीरेन्द्र केसीले छानबिन समितिबाट राजीनामा समेत दिन भ्याएका थिए । तर २४ घण्टाभित्रै फेरि उनी समितिमै फर्किए । सो समितिले पनि प्रहरीले सुरुवाती अनुसन्धानमा लापर्बाही गर्दा कतिपय प्रमाण नष्ट भएको र तत्कालीन एसपी विष्टमाथि नै अनुसन्धान गनुपर्ने देखायो ।

एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोलीले प्राविधिक रूपमा अनुसन्धानका लागि कञ्चनपुरमा सूचना संकलनदेखि विभिन्न कोणबाट एक महिनादेखि अनुसन्धान गरिरहेको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयबाट एसपी दुर्गा सिंह नेतृत्वको अर्को टोलीले पनि अनुसन्धान गरिरहेको छ । महिलाको नेतृत्वमा टोली खटाउँदा थप सूचना प्राप्त हुन सक्ने र अनुसन्धानमा सहज हुने प्रहरीको विश्वास छ ।