काठमाडौँ, १९ असोज । संसद्को विकास तथा प्रविधि समितिले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षमा पुनः नियुक्त दिगम्वर झाको नियुक्ति प्रक्रियाबारे १५ दिनभित्र समितिलाई जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले झालाई पुनः नियुक्त गर्नुपर्ने आधार र कारणसहितको विवरण पेस गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

digamber-jhaसमितिको बैठकमा सदस्यहरुले झाको नियुक्ति प्रक्रियामा प्रश्न उठाएपछि समितिले निर्णयको विवरण माग गरेको हो । समितिको निर्णयमा भनिएको छ ‘‘दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भएको पुनर्नियुक्तिका सम्बन्धमा जनमानसमा विभिन्न प्रतिक्रियाहरू आइरहेको र सरोकारवाला पक्षहरू एवम् आम नागरिकहरुको चासोप्रति समितिको ध्यानाकर्षण भएकोले उक्त नियुक्ति सम्बन्धी प्रक्रिया, पुनर्नियुक्तिको आधार र कारणको यथार्थ विवरण समितिलाई १५ दिनभित्र उपलब्ध गराई दिन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ ।’’

समितिको निर्देशन अघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयले गरेका नियुक्ति प्रक्रिया संविधान, कानुनको परिधिभित्र रहेर नै गरिएको बताए आजको गोरखापत्रमा खबर छ ।