काठमाडौं, १९ असोज । दसैँ नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्लालगायत कर्णालीका बासिन्दा मर्कामा परेका छन् । उनीहरूले पाँच किलोग्राम चामल खरिद गर्न प्रमुख जिल्ला अधिकारी ९सिडिओ० बाट सिफारिस लिनु परिरहेको छ ।

riceनेपाल खाद्य संस्थान, हुम्लाले दसैं नजिकिएपछि बुधबारदेखि चामल बिक्री गर्न थालेको हो । मागअनुसार चामल आपूर्ति नभएपछि प्रतिपरिवार पाँच किलोग्राम मात्रै बिक्री गरिरहेको खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए । ‘जिल्ला खाद्य सुरक्षा समितिले पाँच किलोभन्दा बढी नदिने निर्णय गरेको छ, सोहीअनुसार बिक्री गरिरहेका छौँ,’ विष्टले भने ।

सिडिओको नेतृत्वमा जिल्ला खाद्य समिति रहेको छ । समितिका अध्यक्ष सिडिओ माधवप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले हुम्ला सदरमुकामस्थित संस्थानको सिमकोट डिपोबाट चामल बिक्री गर्ने निर्णय गरेको हो । सिमकोट बजारका बासिन्दा र कर्मचारीलाई पाँच किलोग्राम चामल बिक्री गर्ने तय गरेको छ ।

त्यसका लागि पनि जिल्ला प्रशासन कार्यालयले सिफारिस दिने गरेको छ । सिडिओको हस्ताक्षर रहेको सिफारिस ‘कुपन’ लगेपछि मात्रै खाद्य संस्थानले पाँच किलो चामल बेच्ने गरेको छ । चामल कम भएकाले सबैलाई समान रूपमा बिक्री गर्न जिल्ला प्रशासनबाट सिफारिस लिने व्यवस्था गरिएको जनाएको छ ।

सिफारिस लिन सकस
जिल्ला प्रशासन कार्यालयबाट पाँच किलोग्राम चालम खरिदका लागि सिफारिस लिन सर्वसाधारणलाई सकस भएको छ । सदरमुकाम सिमकोटका बासिन्दा र कर्मचारीलाई रासन कार्डका आधारमा जिल्ला प्रशासनले सिफारिस दिने गरेको छ ।

तर, त्यसभन्दा बाहिरका बासिन्दालाई सिफारिस पाउन समस्या भएको छ । सदरमुकामबाहिरका खाद्य संस्थान डिपोमा चामल छैन । त्यसैले, सर्वसाधारण दिनभरि हिँडेर सिमकोट आउन थालेका छन् । उनीहरू सिफारिसका लागि जिल्ला प्रशासन कार्यालयमा हारगुहार गर्दै आएका छन् । कुपनका लागि सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको कार्यकक्षमा घुइँचो लाग्ने गरेको छ । नयाँ पत्रिकाबाट