
इन्द्रेणी संवाददाता
दाङ, १८ असोज । दाङमा पनि वन विज्ञान ( फरेष्टट्री ) को पठनपाठन सञ्चालनमा आएको छ । यसै वर्ष मात्रै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) द्धारा मान्यता पाएको शहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालय घोराही दाङले वन विज्ञानको पठनपाठन शुरु गरेको हो ।
शिक्षालयले आज दाङको घोराहीमा आयोजना गरेको अभिमुखीकरण तथा कक्षा सञ्चालन कार्यक्रममा बोल्दै शिक्षालयका प्रिन्सिपल एवं सिटिइभिटीका क्षेत्रीय डाइरेक्टर यादव सुवेदीले वर्तमान युग भनेको प्राविधिको युग भएको भन्दै आजको आवश्यकता भनेको व्यावसायिक र व्यावहारिक शिक्षा आम नागरिकको आवश्यकता भएको औल्याए ।
उनले यसैलाई मध्यनजर गर्दै नेपाल सरकारले दक्ष जनशक्ती निर्माण गर्ने उद्देश्यले दाङमा पनि शहिद कृष्णसेन इच्छुक वहुउद्देश्यीय शिक्षालयलाई सिटिइभिटीको आंगिक क्याम्पसका रुपमा सञ्चालनमा ल्याएको बताए ।
कार्यक्रममा राप्ती प्राविधिक शिक्षालय लालमटियाका रासायनिक विज्ञान विभागका प्रमुख सुरेश गुप्ता, आर्थिक तथा लेखा विभागका प्रमुख खेमराज गौतम, प्राध्यापकहरु केशरमान बुढाथोकी र सर्जन गौतमले वन विज्ञान अध्ययनको आवश्यकता र महत्वबारे जानकारी दिएका थिए ।
जम्मा ४० जना विद्यार्थी अध्ययन गर्न सक्ने इच्छुक शिक्षालयमा प्रदेश नम्बर ५, ६ र ७ बाट विद्यार्थीहरु सहभागी छन् ।











