तुलसीपुर, १५ असोज । युवा लेखक एवम् पत्रकार कृष्ण आचार्यको नविनतम उपन्यास अप्रिल फुलको तुलसीपुरमा चर्चा गरिएको छ । तुलसीपुरको ज्ञानदीप कलेजमा अध्ययनरत युवा विद्यार्थीहरुका माझमा लेखक आचार्यले उपन्यासका वारेमा जानकारी दिदै युवा पुस्ताका मौलाउँदो विकृति विसँगतिलाई उपन्यासमा समावेश गरेको वताएका थिए ।
“रंगीन सपना वोकेर शहर पुगेकी युवती कसरी यौन व्यवसायमा लाग्न वाध्य हुन्छे भन्ने कुरालाई मैले यसमा उठाएको छुँ” लेखक आचार्यले भने । उनले माया प्रेमका साथै समाजमा एकले अर्कामाथि कसरी भ्रम छरिरहेको छ भन्ने कुरालाई उपन्यासले उठाउन खोजेको वताए ।
ज्ञानदीप कलेजमा अध्ययनरत विद्यार्थीहरुले स्थापना गरेको स्टुडेन्ट क्वालिटी सर्कलले आयोजना गरेको कार्यक्रममा विद्यार्थी सविता क्षेत्रीले उपन्यास जीवनको अन्तरवारे सोधेकी थिइन् । लेखक आचार्यले जीवनकै कुराहरुमा आधारित रहेर उपन्यास सृजना हुने भएता पनि जीवनलाई जस्ताको वाँच्नुपर्ने तर उपन्यासलाई सम्पादन गर्न सकिने वताए ।
अर्का विद्यार्थी रितेश डाँगीले उपन्यासका लेखककै भोगाइ हो की भन्ने प्रश्न गरेका थिए । लेखक आचार्यले हरेक सृजना लेखकको अनुभुति र र अनुसन्धान भएको वताउँदै त्यसमा नजानिदो तवरले लेखकका केही निजी अनुभुतिहरु पनि समावेश हुने गरेको वताए ।
ज्ञानदीप कलेजका प्राध्यापक वसन्त आचार्यले स्वागत गर्दै लेखनमा व्यावसायिकता आएको वताए । “किताव लेखेकै कारण गुणस्तरिय जीवन वाँच्नेहरु यहाँ धेरै छन्” उनले भने । सर्कलका अध्यक्ष हेमन्तप्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विद्यार्थी तेजकुमार डाँगीले गरेका थिए ।











