रौतहट, ३ असोज । गत भदौ २७ गते राति सुतिरहेका २ किशोरीहरुलाई आफनै छिमेकीले एसिड प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चन्द्रपुर नगरपालिका ६ बजारटोलमा दिदी बहिनीलाइ एसिड प्रहार गरेको आरोपमा १ जनालाइ रौतहट प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

acid-attacksस्थानीय जादोलाल दासका छोरी १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासलाइ एसिड प्रहार गर्ने दास कै छिमेकी बाबुराम पासवानलाइ प्रहरीले सार्वजनिक गरेको हो आजको राजधानीमा खबर छ। अन्दाजी ५० वर्षीय पासवानलाई रौतहट प्रहरीले चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पीडितको बाबु जादोलाल दासको किटानीको आधार, कल डिटेलको आधारमा अनुसन्धानको लागि पासवानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक केदार ढकालले पत्रकार सम्मेलनमा बताए । प्रारम्भिक अनुसन्धान अनुसार किशोरीले पासवानको प्रेम नस्वीकारे पछि एसिड प्रहार गरेको हुन सक्ने प्रहरी उपरीक्षक ढकालले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक ढकालले भने, ‘पासवानले किशोरी सम्झनाको मोबाइलमा १५ दिन भित्र १ सय १८ कल एकतर्फी गरेकोले पनि प्रेमको कारण नै घटना घटेको हुन सक्छ ।’ पीडित सम्झनाले पनि पासवानले आफूहरूलार्इ नराम्रो प्रस्ताव राख्ने गरेको बताएकी छन् ।

थप अनुसन्धानको लागि प्रहरीले जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी ल्याएको प्रहरी उपरीक्षकक ढकालले बताए । पासवानलाई पीडित सम्झना र सुस्मिताको उपचार भइरहेको काठमाडौंको कीर्तिपुर अस्पतालबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पासवान पीडित परिवारसँगै उपचारको सहयोगी बनेर अस्पताल नै पुगेका थिए ।