काठमाडौं, ३ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले आफ्नो कार्ययोजनाअनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ ।

pm kp oliप्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले मंगलबार अनुगमनका लागि तयार गरिएको सफ्टवेयरमा मन्त्रालयहरूले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा अनुगमन गरेको हो ।

अनलाइन मनिटरिङका लागि प्रधानमन्त्रीको कार्यालयले सफ्टवेयर बनाएर त्यसमा मन्त्रालयले कार्ययोजनाअनुसार गरेका कामको विवरण अपडेट गर्न भनेको थियो । नयाँ पत्रिकामा खबर छ तर, केही मन्त्रालयलाई सफ्टवेयरमा कसरी प्रगति विवरण अपडेट गर्ने भन्ने अन्योल देखिएकाले सहजीकरणका लागि गएको प्रधानमन्त्री कार्यालयस्थित अनुगमन महाशाखाका सहसचिव यमलाल भुसालले बताए ।

उनले सरकारको नीति र बजेटका आधारमा मन्त्रालयले पेस गरेको कार्ययोजनाअनुसार कति काम भइरहेको छ भन्ने विषय अब अनलाइनबाटै अनुगमन हुने बताए । त्यसक्रममा विवरण अनलाइनमा अपडेट गर्न केही मन्त्रालयलाई अन्योल देखिएपछि मन्त्रालयमै गएर सिकाइएको उनले बताए ।

अनलाइन अनुगमन प्रणाली भर्खर सुरु भएकाले सबै मन्त्रालयलाई सक्रिय बनाउन केही समय लाग्ने सहसचिव भुसालको भनाइ छ । करिब एक सातापछि अनलाइनबाट मन्त्रालयको अनुगमन गर्ने प्रणाली सक्रिय हुने उनले बताए ।