काठमाडौ २९ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले तल्लो कमिटीको एकीकरण विवाद मिलाउने जिम्मेवारी पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लार्इ दिएको छ ।
पार्टी सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार महासचिव विष्णु पौडेलले सुझावसहित पेस गरेको प्रतिवेदनमाथि सचिवालयमा छलफल भएको थियो । प्रतिवेदनमाथि भएको छलफलमा आएका सुझावका आधारमा निर्णय लिने अधिकार अध्यक्षद्वयलाई दिइएको हो ।
तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को तल्लो समिति, जनवर्गीय संगठन, मञ्च, विभागको बीचमा हुने एकीकरणको विषयमा बुधवारदेखि सैद्धान्तिक छलफल शुरु भएको थियो । बुधवार र विहिवार बसेको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले विभिन्न कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डलाई सुझावसहित बुझाएका थिए ।










