लमजुङ, २८ भदौ । मुसलधारे बर्षाका कारण आएको बाढीपहिरोमा परी लमजुङमा २ जनाको मृत्यु भएको छ । मस्र्याङ्दी गाउँपालिका ३ पल्लोटारीमा घर माथिबाट आएको पहिरोले एउटै घरको हजुरआमा र नातिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
६० बर्षीय हजुरआमा अतिरुपा थापा र ९ बर्षिया नातिनि सिरस थापाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । उनका अनुसार पहिरोमा परेका उनीहरुको उद्धार गरी खुदीस्थित स्वास्थ्य संस्थामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।
बुधबार दिउँसो आएको पहिरोमा परी बेंसीसहर नगरपालिका ११ रामचोकमा निर्माणाधिन २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनामा पावरहाउसको काम गर्दै आएका २ जना कामदारलाई मस्र्याङ्दीले बगाएको प्रहरीले जनाएको छ ।
रसुवा कन्ट्रम्सनका बर्दीयाका अन्दाजी २९ बर्षीय बलीराम चौधरी र अन्दाजी २२ बर्षीय लक्ष्मण थारु बेपत्ता भएको प्रहरीले जनाएको छ । भारि बर्षाले मस्र्याङ्दी पानीको बहाव बढेपछि काम गरिरहेका उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ ।











