काठमाडौँ, २२ भदौ । नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने गरी दुई देशले पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल)लाई अन्तिम रूप दिएका छन् ।
यससँगै नेपाल र चीनबीच दुई वर्षअघि भएको पारवहन तथा यातायात सम्झौैता कार्यान्वयन आउने बाटो खुला भएको छ । दुई देशका प्रतिनिधिबीच बिहीबार राति एक बजेसम्म जारी बैठकले सम्झौताको कार्यविधिलाई अन्तिम रूप दिएको हो ।
कार्यविधिमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि शङ्कर सैँजु र चीनका तर्फबाट त्यहाँको यातायात विभागका महानिर्देशक वाङ सुइपिङले हस्ताक्षर गरे ।
कार्यविधिमा हस्ताक्षर भएसँगै नेपालबाट तेस्रो देशसँग हुने व्यापारका लागि भारतीय निर्भरताको अन्त्य भएको छ । नेपालले अहिले मुख्यतः भारतको कोलकाता बन्दरगाह हुँदै तेस्रो देशबाट वस्तु आयात गर्दै आएको छ ।
कार्यविधिअनुसार नेपालले आफूलाई सहज हुने चीनको कुनै पनि बन्दरगाह प्रयोग गर्न पाउनेछ । त्यस्तै बन्दरगाहसम्म पुग्न छिटो र उपयुक्त हुने रुट प्रयोग गर्न दिन चिनियाँ पक्ष सहमत भएको छ ।











