रुकुम, २२ भदौ। रुकुम मुसीकोट नगरपालिकामा ट्याक्टर सडकबाट खस्दा एक जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । स्टार्ट अवस्थाको ट्याक्टर चालकले न्यूटलमा राखेर छोड्दा वडा नं. १ गाराघाटकी २८ वर्षीया धनमाया देवकोटाको ज्यान गएको हो ।
मुसीकोट नगरपालिका–४ सोलावाङबाट वडा नम्बर १ गाराघाट जाँदै गरेको ट्याक्टर चालक खोलामा गएपछि ट्याक्टर सडकबाट २० मिटर तल खसेको छ ।
दुर्घटनामा मृतक धनमायाकै छोरी १३ वर्षीया मुना, मुसीकोट नगरपालिका–१३ की २४ वर्षीया कमला केसी र बाँफिकोट–९ की १६ वर्षीया ललिता ओली घाइते भएका छन् ।
घाइते तीनैलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।घाइतेमध्ये मुना र ललिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।











