दाङ, २० भदौ । मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अबसरमा बुधवार तुलसीपुरमा जनचेतना मुलक प्रभातफेरी कार्यक्रम गरिएको छ ।

m1सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एवं प्रदेश नं ५ का प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मानव बेचविखन रोक्नमा अभिभावकको भुमिका अपरिहार्य रहेको बताए ।

सो अवसरमा प्रदेश नं ५ का प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले मानव ओसार पसारमा बैदेशिक रोजगार सङग समेत जोडिएको भन्दै तेस्रो मुलुक हुँदै वैदेशिक रोजगारमा जानेलाई कडा निगरानीमा राख्नुपर्ने बताए । कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुस्मा गिरीले पनि बोलेकी थिइन् ।