प्यूठान, ९ भदौ । प्यूठानको प्युठान नगरपालिका ९ मरण्ठाना चिसापानीका कृषक दिनबहादर जीसीले माछापालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आएको छन् । उनले यसबाट आएको रकमले घरखर्च चलाउँदै पनि आएका छन् ।

fishजिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष रहेका जीसीले विसं २०६० सालमा जिल्लामै पहिलोपटक व्यावसायिक माछापालन शुरू गरेका हुन् । प्यूठान जिल्लामा माछाको बजार राम्रो भए पनि जिल्ला कृषि विकास कार्यालयले माछापालन व्यवसायका लागि सिफारिश नगर्दा व्यावसायिक रूपमा फस्टाउन नसकेको जीसीको भनाइ छ ।

शुरूमा १२ लाख ३० हजार रुपैयाँ लगानी गरी माछापालन व्यवसाय गरेका उनले माछा विक्रीबाट वार्षिक १६ देखि १८ लाख रुपैयाँ आम्दानी गर्दै आएको बताउँछन् । शुरूमा सामान्य माछापालन गरेका जीसी अहिले मत्स्य विकास केन्द्रबाट तालीम लिई आधुनिक माछापालन व्यवसाय गरेका छन् । उनले १३ रोपनी जग्गामा १० ओटा पोखरी निर्माण गरी माछापालन गर्दै आएका छन् । प्रतिकिलो ४ सय ५० देखि ५ सय रुपैयाँसम्ममा माछा विक्री हुने उनले बताए ।

उनले वार्षिक ३५ देखि ४० क्विण्टल माछा उत्पादन गर्दै आएका छन् । उत्पादन गरिएको माछा जिल्लामै खपत हुने गरेको र जिल्लाको मागअनुसारको माछा उत्पादन गर्न नसकेको जीसीको भनाइ छ । जिल्लाको झिमरुक उपत्यका तथा माडी क्षेत्र माछापालनका लागि उत्तम मानिन्छ ।

माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयले अक्सिजन दिने औजार तथा दीर्घकालीन कृषि कार्यक्रमले नर्सरी स्थापनाका लागि संरचना निर्माण गर्न ३० हजार सहयोग गरेको उनले बताए । उनले भने, ‘नियमित विद्युत् आपूर्ति नहुँदा पानी तान्न समस्या भएको छ ।’

सिँचाइको कमी र पोखरीमा पानी नअडिने समस्याले सताएको साथै सडकको अवस्था राम्रो नहुँदा माछाका भुरा बचाउन समस्या भएको उनले बताए । जीसीले युवालाई माछापालन व्यवसायतर्फ आकर्षित गर्न माछा पाल्ने तरीका सिकाउँदै आएका छन् । त्यसका साथै उनले माछाका भुरा उत्पादन गर्दै आएका छन् । तर, भुराबाट भने सोचेजस्तो फाइदा लिन नसकेको उनले बताए ।