भीमदत्तनगर, ९ भदौ । कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्याकाण्डको विषयमा थप अनुसन्धान गर्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ppजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले निर्मला पन्त हत्याकाण्डको अनुसन्धानका लागि भन्दै भीमदत्तनगरपालिका–१८ का रोशनी बम र बबिता बमलाई नियन्त्रणमा लिएको बताए ।

रोशनी बम बलात्कारपछि हत्या गरिएकी निर्मलाका साथी हुन् । गत साउन १० गते उनकै घरमा निर्मला स्कूलको गृहकार्य गर्न भनेर पुगेकी थिइन् । गृहकार्य गरेर घर फर्किने क्रममा निर्मलाको हत्या भएको थियो ।

यसैगरी घटनालाई लिएर जारी विरोध÷आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सर्वदलीय र सर्वपक्षीय छुट्टाछुट्टै बैठकले सो अपिल गरिएको हो ।

बैठकले तत्कालन विरोध बन्द गरी घटनाका विषयमा गृहमन्त्रालयको उच्चस्तरीय छानबिन टोलीलाई अनुसन्धान गर्नमा सहज वातावरण बनाइदिन हुन नागरिक समाज, व्यापारी, व्यवसायी, विभिन्न महिला तथा मानवअधिकारकर्मीलगायत सबैमा अपिल गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

सर्वपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले आन्दोलनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्तनगरपालिका–१८ का किशोर सनी खुनालाई शहीद घोषणा गर्न र मृतक खुनाका परिवारलाई उचित क्षतिपूर्ति दिन सङ्घीय, प्रदेश नं ७ र स्थानीय नगरपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जानकारी दिए।

त्यसैगरी बैठकले निर्मला हत्याकाण्डपछि भएका आन्दोलनका क्रममा घाइते भएकाको उपचार र शारीरिकरुपमा अशक्त भई कठिनाइ भएकाको जीविकोपार्जनका लागिसमेत सरकारसँग माग गर्ने निर्णय भएको उनले बताए ।
बैठकले आन्दोलनका क्रममा सरकारी र व्यक्तिगत सम्पत्ति तोडफोडका साथै आगजनी, क्षति र भीड नियन्त्रणका क्रममा भएको बल प्रयोग विषयमासमेत छानबिन गरी दोषीलाई कारवाहीका माग गर्न गृहमन्त्रालयलाई आग्रह गरिएको छ ।

सर्वपक्षीय बैठकमा बोल्दै उच्चस्तरीय छानबिन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले कञ्चनपुर आएपश्चात् घटनाका विषयमा जनमत बुझिसकेको बताउँदै निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाइदिन आग्रह गरे ।