इन्द्रेणी संवाददाता
दाङ, २९ असार । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिषरभित्र विचौलियालाई प्रवेश निषेध गरिएको बताएका छन् ।
सेवाग्राहीहरुको काम गरिदिने नाममा उनीहरुबाट पैसा असुल्ने विचौलियाहरुलाई प्रशासन परिषरमा निषेध गरिएको बताए । ‘मैले म आएदेखि प्रशासन कार्यालयभित्र विचौलियालाई गेटबाटै प्रवेश निषेध गरेको छु’ आफ्नो एक वर्षको कार्यकालको समीक्षा एवं पृष्ठपोषणका लागि सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा प्रजिअ श्रेष्ठले भने, ‘वरु कोही यहाँ भित्र छन् भने भन्नुस्, प्रदेश गरिएको पाइएमा यहीबाट नियन्त्रणमा लिने भनेको छु ।’
आज शुक्रवार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उनले जिल्लाको शान्ति सुरक्षा अहिले सामान्य भएको र ठूला ठूला अपराध नियन्त्रणका लागि सुरक्षा योजना अनुसार काम भइरहेको बताए । त्यस्तै कार्यालयलाई प्रविधि मैत्री बनाइएको, सबै किसिमका अपराधिक गतिविधि, गुण्डागर्दी, मापसे, जुवालगायतका कार्य न्यूनिकरण गर्ने प्रयास भइरहेको उनले बताए ।
आफू आएदेखि जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहमा पनि सुधारको प्रयास गरेको बताउदै प्रजिअ श्रेष्ठले सेवा प्रभाकारी बनाउन टोकन प्रणाली लागु गरिनुका साथै यहाँका काम कारवाहीलाई निगरानीका लागि सिसि टिभी जडान समेत गरिएको बताए । उनले सबै सेवा ग्राहीलाई यहाँको सेवा सुविधामा पहुँच पु¥याउने प्रयास भएको र आफूलाई सबै नागरिकले सचिलै भेटेर आफ्ना समस्या गुनासा राख्न सक्ने व्यवस्था गरेको उनको भनाइ थियो ।
एक वर्षको अवधिमा प्रशासनमा ४४८ सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता भएकोमा ३०१ बाँकी रहेको र अरु सबै फछर्यौट भएको जानकारी दिए ।
यसैगरी यहाँको दुर्घटना न्यूनिकरण, बजार अनुगमन, नदीजन्य पदार्थको दोहान नियन्त्रण, विपद् व्यवस्थापन, वेथिति विकृति न्यूनिकरणलगायतका सबै खाले प्रयास भएको कार्यक्रममा उनले जानकारी दिए ।
सो अवसरमा सहभागीहरुले जिल्ला प्रशासन कार्यालय अझै अपाङगमैत्री नभएको, निचौलिया अझै सक्रिय रहेको र प्रशासनको कामलाई अझै चुस्तदुरुश्त बनाउन सुझाव दिएका थिए ।











