दाङ, १९ असार । सामुदायिक वन उपभोक्ता महासंघ दाङको अध्यक्षमा भुपेन्द्र सुवेदी चयन भएका छन् । नेपाल जिल्ला महासंघ दाङको पाँचौ अधिवेशनले सुवेदीलाई अध्यक्षतामा आगामी चार बर्षका लागि सर्वसंमत अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सरिता थापा, सचिवमा जानका केसी र कोषाध्यक्षमा कमलराज शर्मालाई अधिवेसनले सर्वसहमतिले चयन गरेको छ । अन्य २० जना सदस्य रहेका छन् । नयाँ नेतृत्व सर्वसंमत भएको हो ।
वन महासंघको संसोधित बिधान बमोजिम दाङका दश वटै स्थानीय तहमा गठित वन महासंघका अध्यक्ष सहित २ जना गरी २० जना र जिल्ला महासंघले मनोनित गरेका ४ गरी २४ सदस्यीय जिल्ला महासंघ रहने प्रावधान रहेको छ । दाङका दश वटा स्थानीय तहमा भएका वन महासंघको अधिवेसनबाट ७६ जना प्रदेश प्रतिनिधि चयन गरिसकेको छ ।
यसैबीच परिवर्तित परिस्थिति अनुसार सामुदायिक वनका उपभोक्ताहरुको अधिकारको पक्षमा थप शसक्त भई अभियान चलाउने लगायत १६ बुँदे आगामी नीति तथा कार्यक्रम पारित गर्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङको पाँचौ अधिवेशन घोराहीमा सकिएको छ ।
जिल्ला महासंघको सचिवालयका तर्फबाट तयारी गरी सचिव हेमराज शर्माले प्रस्तुत गरेको आगामी नीति तथा कार्यक्रमलाई अधिवेसनले सर्वसहमति पारित गरेको हो । वन महासंघको आगामी रणनितिका रुपमा पारित नीति तथा कार्यक्रममा मध्यवर्ती र निकुञ्ज क्षेत्र बिस्तार रोक्न पहल गर्ने,प्रदेश महासंघ र संघीय महासंघसँग समन्वय गरी स्थानीय महासंघको क्षमता अभिबृद्धिका लागि सहयोग पूर्याउने, बिभिन्न परियोजनाहरुसँग समन्वय सहकार्य गर्दै स्थानीय वन समूहको क्षमता बिकासमा सहयोग पूर्याउन, सामुदायिक वन, स्थानीय निकाय र सरोकारवालासँग श्रोत संकलन गरी भवनको कामलाई पूर्णता दिने र सभाहल ब्यवस्थित गर्दै संस्थालाई साधान श्रोत सम्पन्न गराउने र प्राकृतिक श्रोत अध्ययन केन्द्रको शुरुवात गर्ने रहेका छन ।
यसैगरी जिल्ला वन कार्यालय, प्रदेश वन कार्यालयसँग समन्वय गर्ने, जलवायु परिवर्तन, अनुकुलन, न्यूनिकरण सम्वन्धि कार्य गर्नकालागि रेड केन्द्रसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने, स्थानीय महासंघ, वन समूह र जिल्ला महासंघबिचमा सवालगत रुपमा सहजीकरण गर्दै शुसासनकालागि अभियान सञ्चालन गर्ने , वन समूहको अधिकारकालागि नीति पैरवी गर्दै संस्थाको मूल्य मान्यता र उद्देश्यमा आच आउन नदिने,उद्देश्य मेल खाने संस्थाहरुसँग समन्वय गरी कार्य गर्ने,जैविक बिबिधता संरक्षण तथा बिपन्न र बञ्चित बर्गको आयआर्जनमा सहयोग पूर्याउने,समृद्धिकालागि वन अभियान अन्र्तगत वन पैदावारमा आधारित उद्दम सञ्चालन गर्न पहल गर्ने,गोवरडिहा काष्ठ तथा फर्निचर उद्योगको क्षमता बिकास गर्दै सिप बिकास तालिम केन्द्रको रुपमा बिकास गर्ने र सामुदायिक वन समूह हस्तान्तरणका लागि पहल गर्नेलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।










