तुलसीपुर, १९ असार । तुलसीपुर उपमहानगरपालिकाका सबै वडामा विपद व्यवस्थापन समिति गठन गरिने भएको छ । वर्षाको समय सुरुवात भएसँगै आउन सक्ने जोखिमलाई तत्काल समाधान गर्न र पीडितलाई राहत वितरण गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा यस्तो समिति गठन गरिने भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको ३७ औ कार्यपालिकाको वैठकले विपद व्यवस्थापनमा सघाउने सबैसँग सहकार्य गरेर अगाडि वढ्ने समेत निर्णय गरेको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले आर्थिक वर्ष २०७५÷७६ का योजनाका वारेमा पनि छलफल गरेको थियो ।
छलफलका क्रममा कार्यपालिका सदस्यहरुले भौतिक पूर्वाधारमा वजेटलाई केन्द्रीत गर्नका लागि सुझाव समेत दिएका थिए । यसैगरी कार्यपालिकाको वैठकले असार २४ गते दिनकाने ११ वजे नगर सभाको वैठक वस्ने निर्णय समेत गरेको प्रवक्ता डाँगीले जनाएका छन् ।










