युएई, १९ असार । कतारको विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका १७ जना नेपालीले आममाफी पाएका छन् । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा कतार सरकारसँग गरिएको अपिल अनुसार १७ जना नेपाली कैदीले आममाफी पाएका हुन् ।

katarअन्नपूर्ण पोष्टमा खबर छ- १७ जनाले आममाफी पाएसँगै अन्य २९ जनाको पनि प्रक्रिया अघि बढाइएको छ। दोहास्थित नेपाली राजदुतावासले विज्ञाप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कतारस्थित कारागारमा बन्दी जीवन बिताइरहेका नेपाली कैदी बन्दीहरुलाई नियमानुसार आममाफी दिन नेपाली राजदूतावास, दोहाले कतार सरकारसँग अनुरोध गरे अनुसार यो अवसर पाएका हुन्, दुतावासले भनेको छ, चालचलन र कैद भुक्तानीको आधारमा कतारका अमिरबाट १७ नेपाली कैदीलाई आममाफीसहित रिहा गरिएको हो ।

दूतावासका अनुसार बाँकी २९ जना कैद भुक्तानीको क्रममा रहेका छन् । उनीहरुलाई पनि आममाफीका लागि पहल भइरहेको कतारस्थित नेपाली राजदुत रमेश कोइरालाले जानकारी दिए ।