सल्यान, १ जेठ । सल्यान जिल्लाबाट चालू आर्थिक वर्षको नौ महिनामा मात्रै ७९ करोडभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ  ।

aduwa1यस वर्ष करीब ३० करोड ३७ लाख मूल्यबराबरको सुन्तला, १९ करोड ९७ लाख ४५ हजार मूल्यबराबरको तरकारी, २३ करोड ९० लाखबराबरको अदुवा र करीब ७ करोडको अदुवाको सुठो जिल्लाबाहिर निर्यात भएको हो । गत आवमा ६७ करोड १७ लाख ७१ हजार मूल्यबराबरको कृषिजन्य वस्तु जिल्लाबाहिर गएको थियोे ।

सल्यानका ३४ हजार बढी घरधुरीले परम्परागत निर्वाहमुखी कृषि पेशाका साथै आधुनिक र व्यावसायिक कृषि पेशालाई समेत अँगालेका हुन् । जिल्लामा उत्पादित फलफूल, तरकारी, खाद्यान्नबाली, नगदेबाली तथा बीउ जिल्लाबाहिर जाने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार तरकारी खेतीमा जिल्लाभर करीब ७ हजार ९ सय ७५ किसान संलग्न रहेका छन् । यस्तै, कोटमौला, कोटबारा, दमाचौर, पीपलनेटा, मार्के, सेजवालटाकुरा र कजेरीका करीब १ हजार किसान व्यावसायिक सुन्तला खेती गर्छन् ।