रोल्पा, २९ वैशाख । कडा चट्टानका कारण यातायातका साधन आवत जावतमा निकै समस्या हुँदैआएको रोल्पाको दुईखोली—थवाङ सडकखण्डको खरिबोटमा नेपाली सेनाले करीब २०० मिटर चट्टान फुटालेर सडक विस्तार गर्ने काम गरेको छ ।

nepal armyमेसिन प्रयोग गरेर सडक निर्माण गर्न सम्भव नभएपछि यातायात व्यवसायी र स्थानीयवासीले सडक निर्माणमा सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय, रोल्पा तथा शहीद मार्ग सडक कार्यालय समेतको पहलमा नेपाली सेनाले सो सडकखण्ड निर्माण कार्य आरम्भ गरेको हो ।

खड्गदल गण, रोल्पाका एक पल्टन सैनिकले गत वैशाख १६ गतेदेखि सडक निर्माण कार्यलाई निरन्तरता दिइरहेको बताइएको छ । “सडक निर्माण सम्पन्न गर्न अझै करीब एक हप्ता लाग्छ”, खड्गदल गणका सहायक गणपति धर्म बोगटीले भने ।

नेपाली सेनाको सहयोगमा सडक फराकिलो भएपछि स्थानीयवासी खुशी भएका छन् । सडक साँघुरो भएका कारण दुर्घटनाको ठूलो जोखिम मोल्दै आएका उनीहरु अब भने ढुक्कका साथ सवारीसाधनको आवतजावत हुनेमा विश्वस्त छन् ।