इन्द्रेणी संवाददाता
रुकुम, १४ असार
कृषिका लागी रुकुमको माटो देशकै उत्कृष्ट भएको एक प्रतिवेदनले देखाएको छ । खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि त्यहाँको माटोको उर्वराशक्ति देशकै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक भएको हो ।
जिल्ला कृषि विकास कार्यालयको पहल र अगुवाइमा कृषि प्रणालीमा सुधार ल्याई कृषकको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ दुई वर्षदेखि माटो परीक्षण अगाडि बढाइएको थियो ।
कृृषि उत्पादनका दृष्टिले रुकुमको माटो देशभर उत्कृष्ट रहेको प्रतिवेदन क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराका इन्द्रबहादुर ओलीले प्रस्तुत गर्नुभएको हो ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईंले समशीतोष्ण हावापानी र सदाबहार किसिमको मौसमका कारण रुकुमको माटाको उर्वराशक्ति उच्च रहेको जानकारी दिनुभयो ।।