काठमाडौं, २९ चैत । यस वर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड २०१८’ हेटौडाकी २२ बर्षीया श्रृङ्खला खतिवडाले हात पारेकी छन् । बुधबार राति सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले मिस नेपालको वर्ल्ड हात पारेकी हुन् ।
मिस नेपाल २०१८ को प्रतिस्पर्धामा शृंखला खतिवडा नम्बरको हिसाबले अन्तिम प्रतिस्पर्धी थिइन् । २५ जना प्रतिस्पर्धीमध्ये शृंखलाको रोल सबैभन्दा अन्तिममा आउँथ्यो । तर बुधबार रातिको मिस नेपाल प्रतियोगितामा शृंखला बाँकी २४ जनालाई पछाडि पार्दै पहिलो भइन् र मिस नेपालको ताज पहिरिन सफल भइन् । उनी मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् ।
यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेका छन् ।











