काठमाडौं, २९ चैत । सभामुख कृष्णबहादुर महरा र गणतन्त्र कोरियाका सांसद एवं कोरिया–नेपाल संसदीय मैत्री संघका अध्यक्ष जु स्योङ योङबीच शिष्टाचार भेटवार्ता भएको छ । सभामुख महरा र जु बीच संसद सचिवालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा सभामुख महराले नेपालमा संघीय संसदको नयाँ अभ्यास शुरु गरेको भन्दै एक अर्कामा संसदीय अभ्यासको आदान प्रदानले दुई देशबीच राजनीतिक सम्बन्ध पनि थप सुमधुर हुने बताउनुभयो । ‘संसदीय अभ्यास, अनुभव आदान प्रदान र सहकार्यले राजनीतिक सम्बन्ध पनि स्थापित हुन्छ, महराले भन्नुभयो, ‘गणतन्त्र कोरियाबीच साँस्कृतिक सम्बन्ध पनि रहेको छ ।’
नेपालमा धेरै लगानी गर्ने देशहरुमध्ये कोरिया पनि प्रमुख लगानीकर्ता रहेको भन्दै सभामुख महराले अहिले हाइड्रो, मेडिकल औजार, होटेल व्यवस्थापन, इलेक्ट्रोनिक्सलगायतका क्षेत्रमा ठूलो लगानी रहेको बताउनुभयो । नेपालमा हाइड्रो पावर सञ्चालनका लागि निकै अनुकूल रहेकाले त्यसतर्फ लगानीका लागि सम्बन्धित मन्त्रालय र सरकारसँग सहकार्य गर्न सभामुखले आग्रह गर्नुभयो ।
नेपाली कामदारहरु ठूलो मात्रामा कोरियामा काम गर्न गएको बताउँदै सभामुख महराले नेपालीहरुको सुरक्षाका बारेमा चासो राख्नुभएको थियो । ‘अहिले कोरियामा नेपाली कामदारहरु ठूलो संख्यामा रहेका छन्, उहाँले भन्नुभयो ‘हामी कोरियाले नेपालीहरुलाई दिदै आएको अवसरको निरन्तरता होस्, र अहिले रहेका नेपालीहरु सुरक्षित रहून् भन्ने हाम्रो मुख्य चासो रहेको छ ।’
सो अवसरमा कोरिया–नेपाल संसदीय मैत्री संघका अध्यक्ष तथा कोरियाली संसदका जु स्योङ योङले नेपालीहरु निकै मेहनती, नम्र र अनुशासित रहेको बताउनुभयो । कोरियामा रहेका नेपालीहरु निकै इमान्दारीपूर्वक काम गरिरहेको भन्दै सांसद जुले नेपाली कामदारहरुको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
आफू कोरियाली संसदको पानीसम्बन्धी समितिको विशेषज्ञका रुपमा काम गरिरहेको भन्दै नेपालमा जलस्रोत प्रशस्त रहेकाले हाइड्रोमा राम्रो काम गर्न सकिने बताउनुभयो । भूकम्पको बेला कोरियाले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै जुले आफूहरुले नेपालको हाइड्रो पावरलगायत हरेक क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।
जुसँगको भेटघाटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूतलगायतको टोली रहेको थियो भने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सहसचिव एवं संसदका प्रवक्ता डा.भरतराज गौतमलगायतको पनि उपस्थिति रहेको थियो ।











