काठमाडौं, २९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत महिना भएको जहाज दुर्घटनामा दुई मिनेटभित्रै अग्नि नियन्त्रक तथा आकस्मिक सेवा दुर्घटनास्थल पुगेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । प्रारम्भिक प्रतिवेदन बुझाउन एक महिनाको समयसीमा पाएको आयोगले सोमबार सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनअनुसार उक्त दुर्घटनापछि अग्नि नियन्त्रण गर्न चारवटा ठूला फोम टेन्डर ९आगो निभाउन प्रयोग गरिने लिक्विड बोक्ने ठूला सवारीसाधन, यसको क्षमता १८ हजार लिटरसम्म हुन्छ० परिचालन गरिएको थियो । त्यसबाहेक थप एक मध्यम क्षमताको फोम टेन्डर र दुईवटा पानी बोक्ने ट्यांकरमार्फत प्रभावकारी रूपमा आगो नियन्त्रण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
२८ फागुनमा बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस बाङ्ला एयरलाइन्सको कलसाइन बाङ्ला स्टार २११ जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । नयाँ पत्रिकामा खबर छ दुर्घटनामा चालक दलका ४ सदस्यसहित ५१ जनाको निधन भएको थियो । प्रारम्भिक प्रतिवेदनअनुसार दुर्घटनाको कारण अन्तिम प्रतिवेदनबाट खुल्नेछ ।
यस प्रतिवेदनमा भने दुर्घटनाको अवस्थिति, उक्त दिनको मौसमी अवस्था, कन्ट्रोल टावर र पाइलटबीचको कुराकानी, उपकरणहरूको अवस्था, दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिजस्ता पक्ष उल्लेख गरिएको छ । आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमन, सरोकारवाला कम्पनी र निकायबाट अहिलेसम्म प्राप्त प्रतिवेदनलाई आधार मानेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को प्रावधानअनुसार नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवौँ तहको अग्नि नियन्त्रक सेवा उपलब्ध छ । आइकाओले सबैभन्दा माथिल्लो तह १० मानेको छ ।
नवौँ तहको अग्नि नियन्त्रण सेवामा सूचीकृत विमानस्थलभित्र कम्तीमा तीनवटा अग्नि नियन्त्रक तथा उद्धारसम्बन्धी सवारीसाधन र उपकरण उपलब्ध हुनुपर्छ । यस्ता उपकरणले ६१ मिटरदेखि ७६ मिटरसम्म लामो जहाजमा लागेको आगो निभाउन सक्छन् ।











