इन्द्रेणी संवाददाता
रोल्पा, १३ असार ।
ललित साहित्य परिषद्, रोल्पाले कवि पुरण क्षेत्रीलाई अभिनन्दन गर्ने भएको छ । परिषद्को आज लिबाङमा बसेको बैठकले कवि क्षेत्रीलाई अभिनन्दन गर्ने निर्णय गरेको हो । यस वर्षको भानु जयन्तीको अवसरमा लिबाङमा एक कार्यक्रमको आयोजना गरी क्षेत्रीलाई अभिनन्दन गरिने परिषद्का अध्यक्ष ओम केसीले जानकारी दिए ।
बैठकले अभिनन्दित हुने कवि क्षेत्रीको व्यक्तित्वमाथि प्रकाश पार्ने जिम्मा मौसम रोकामगरलाई दिने निर्णय गरेको छ । लिबाङ–४, रोल्पा निबासी कवि क्षेत्रीको ‘जलजलाको नूतन सन्देश’ र ‘देशले हाम्रो उत्साह खोजिरहेछ’ कवितासङ्ग्रह प्रकाशित छन् ।
ललितले हरेक वर्ष एक जना स्रष्टालाई भानुजयन्तीको अवसरमा अभिनन्दन गर्दै आएको छ । यसअघि परिषद्ले १२ जना विभिन्न स्रष्टाहरुलाई सम्मान गरिसकेको छ । यस्तै बैठकले भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता गर्ने निर्णय गरेको छ । जिल्लामा क्रियाशील साहित्यिक संघसंस्थाहरुसँग समन्वय गरी भानुजयन्ती मनाउने र सोही अवसरमा प्रतियोगिता सम्पन्न गर्ने निर्णय भएको छ ।
यसैविच, नेपाल मुक्तक प्रतिष्ठान रोल्पा शाखाले मुक्तककार लोकेन्द्र सेन ‘सिम्पल कान्छा’को मुक्तकसङ्ग्रह प्रकाशन गर्ने भएको छ । शाखा अध्यक्ष देवी गुरुङको अध्यक्षतामा बसेको बैठकले सिम्पल कान्छाको ‘खुकुरी’ मुक्तकसङ्ग्रह प्रकाशन गर्ने निर्णय गरेको हो । शाखाका सचिव समेत रहेका सिम्पल कान्छाको यस अघि ‘अचानो’ मुक्तकसङ्ग्रह प्रकाशन भइसकेको छ ।।