dav

इन्द्रेणी संवाददाता
काठमाडौं, ११ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रोल्पा विचार, क्रान्ति र परिवर्तनको प्रतीक बनेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले वर्गसंघर्षको अग्रणी किल्लाको रुपमा रही विचार निर्माण र नेतृत्व निर्माणमा समेत अग्रणी रहेको बताए ।

dav

‘नेपालको जनवादी क्रान्तिमा रोल्पाको भूमिका अग्रणी रह्यो भन्ने इतिहाससिद्ध भइसकेको छ । रोल्पाले अग्रणी वर्गसंघर्षको किल्लाको रुपमा विचार निर्माण र नेतृत्व निर्माणमा पनि अग्रणी नै हो भन्ने कुरा सावित भइसकेको छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘विचार, नेतृत्व र संगठन जनताको बीचमा बलियो विश्वासको सम्बन्ध भयो भने ठूल्ठूला परिवर्तन सम्भव हुँदोरहेछ भन्ने कुराको एउटा प्रमाण हो रोल्पा ।’

जनयुद्धको क्रममा रोल्पा, रुकुम, जाजरकोट, सल्यान र पूर्व पश्चिमका विभिन्न जिल्लाहरुलाई मुख्य केन्द्रीय आधारइलाकाको रुपमा सञ्चालन गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले युद्धको अप्ठ्यारा दिनहरुमा राजनीतिक र फौजी जटिलता आएपछि आफू रोल्पा जाने र त्यहाँका पार्टी कार्यकर्ता र जनतासँग बसेर समस्या समाधान गर्ने गरेको बताए ।

विगतको रोल्पासँगको विश्वासलाई अझ सुदृढ गर्न चाहेको भन्दै प्रचण्डले भने, ‘शान्तिप्रक्रियामा, संविधान निर्माण प्रक्रियामा र संविधान कार्यान्वयन गर्दै समाजवादतर्फको नितान्त नयाँ युगको यात्रामा पनि हामी यो विश्वासलाई अझ सुदृढ गर्न चाहन्छौं । हाम्रो विचार, नेतृत्व र जनताको सम्बन्धको स्तरलाई अझ बलियो बनाउन चाहन्छौं देशभरिको पनि र मुख्यतः रोल्पाको ।’

यसैगरी प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बदलिएको परिस्थितिमा रोल्पा परिवर्तनको प्रतीक बन्नुपर्ने बताएका छन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले सामाजिक परिवर्तनका लागि रोल्पा फेरि पनि प्रतीक बन्नुपर्ने बताए ।

‘रोल्पा परिवर्तनको पहिचान र प्रतीक बनेको छ । हामीले धेरै ठूलो त्याग र बलिदान गरेका छौं । त्यसको प्रतिफल आजको रोल्पा बनेको छ’, उनले भने, ‘रोल्पा त्यसै रोल्पा बनेको हैन, रोल्पालाई अध्यक्ष प्रचण्डले विश्वास गर्नुभयो र रोल्पाले उहाँलाई विश्वास ग¥यो । यो विश्वासलाई अब नयाँ उचाइमा उठाउनुपर्छ । प्र्रचण्डलाई नयाँ उचाइ र नयाँ भूमिकामा उठाउनको निम्ति हामीले त्यहीँ उचाइमा उठेर विश्वास गर्नुपर्दछ ।’