इन्द्रेणी संवाददाता
दाङ, ११ चैत । समाचार सम्प्रेसनका लागि घुस लिएको आरोप लागेका पत्रकार गणेश आचार्यको विषयमा नेपाल पत्रकार महासंघ दाङले प्रतिवेदन सार्वजनिक गरेको छ ।

fnj dangमहासंघका अध्यक्ष सविन प्रियासन, सल्लाहरकाहरु सुदीप गौतम, केएल पीडितको समितिले घटनाको छानविन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

यस्तो छ प्रतिवेदनमा
पत्रकार गणेश आचार्यका सम्बन्धमा तयार पारिएको प्रतिवेदन निम्नानुसार रहेको छ ।
उपरोक्त सम्बन्धमा यस शाखाका साधारण सदस्य गणेश आचार्यले समाचार प्रसारणको विषयमा रकम लिएको भनी परेको उजुरीको छानबिन गर्न शाखा अध्यक्ष सबिन प्रियासन संयोजक र सल्लाहकारद्धय सुदीप गौतम र के.एल पीडित सदस्य रहेको समितिले छानबिन गरी पेश गरेको प्रतिवेदन ।
१) पत्रकार गणेश आचार्यले रकम लिएको सन्दर्भमा आरोप लगाउने पक्षले ठोस प्रमाण पेश गर्न नसकेको, पैसा लेनदेनको कुनै ठोस प्रमाण नभेटिएको र यसै सन्दर्भमा दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा समेत दर्ता भएकोले सम्मानित अदालतको क्षेत्राअधिकारको सम्मान गर्दै अदालतको फैसला बमोजिम महासंघले थप कदम चाल्ने ।
२) रकम लिएको भनेको दिन आरोप लगाउने पक्षसंग निज आचार्यले भेटेको, संगै बसेर खानपिन गरेको र समाचार तयार गरेको लामो समयपछि मात्र प्रसारण गरेको पाइएकोले विवादास्पद व्यक्तिहरुसंग अस्वाभाविक बसउठ गर्नु र तयार पारेको समाचार लामो समयसम्म रोक्ने कार्य समेत प्रचलित पत्रकार आचार संहिता विपरीत कार्य भएको देखिन्छ । साथै निज आचार्यका विपक्षमा पटक पटक उजुरी पर्नु र बारम्बार पत्रकारितासंग असम्बन्धित विषयमा समेत विवादमा परिरहनुले निजलाई पत्रकारिताको मुल भावना र मर्मलाई आत्मसात पत्रकारिता गर्न र आचारसंहिताको पुर्ण पालना गर्न सचेत गराउने ।
३) कुनै पनि समाचार रोक्न वा प्रसारण गर्न रकम लेनदेन गर्नु अनुचित र पत्रकारिताको भावना विपरीत भएकाले पैसाको आधारमा समाचार रोक्न वा प्रकाशन÷प्रसारण गराउने वा त्यस कार्यमा प्रेरित गर्ने कार्य नगर्न समाजका सबै पक्षलाई आग्रह गर्ने ।
४) कसैले समाचारको बहानामा बार्गेनिङ गर्यो भने पत्रकार महासंघलाई तत्काल जानकारी गराउन सम्पुर्णलाई आग्रह गर्ने ।
५) जिल्लामा यस्ता गतिविधि सम्बन्धि उजुरी बढिरहेकाले यस्ता गतिविधिको निगरानी र सुनुवाई गर्न स्थायी पृकृतिको एक समिति निर्माणको लागि कार्यसमितिलाई सुझाव दिने ।