घोराही , १३ असार । दाङलाई आगामी २०७७ साल सम्म पूर्ण सरसफाई युक्त जिल्ला बनाईने भएको छ । खानेपानी र सरसफाई युक्त जिल्ला बनाउने अभियानलाई बिभिन्न सरकारी तथा गैरसरकारी निकायले नेतृत्व गर्दै सरसफाईको कामलाई तिब्रता दिइएको छ ।
नेपाल पत्रकार महासंघ दाङ र खानेपानी सरसफाई तथा स्वच्छता पत्रकार मञ्च दाङका सदस्यहरु सँग खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि पूर्ण सरसफाई अभियानका बारेमा जानकारी दिएको हो ।
खुला दिसामुक्त जिल्ला घोषणा पछि अबको पाँच बर्षभित्र दाङलाई पूर्ण सरसफाई युक्त जिल्ला बनाउने गरि विभिन्न कामहरुको सुरुवात गरिएको सरसफाई फोकल पर्सन इन्जिनियर तिलक न्यौपानले जानकारी दिनुभयो । पूर्ण सरसफाई अभियानमा चर्पिको सहि प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीको प्रयोग, खानामा शुद्धता, घर आगन सफा र वाताबरणिय सरसफाईमा बिषेश ध्यान दिईने न्यौपानेले बताउनुभयो ।
पूर्ण सरसफाई अभियानलाई सफल बनाउनका लागि खानेपानी कार्यालय, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, सुआहारा र युनिसेफले नेतृत्व गर्दै २०७७ साल भित्र बिभिन्न सचेतना मूलक कार्यहरु हुने छन् । ५ बर्षे सरसफाई रणनितिक योजना बनाएर काम सुरुभएको भन्दै सञ्चार क्षेत्रले पनि यसमा नागरिकहरुलाई सुशुचित गराउदै खबरदारीमा सघाउन कार्यालयले आग्रह गरेको छ ।
कार्यक्रममा खानेपानी डिभिजन कार्यालयका प्रमुख जगन्नाथ पूर्वेले सरसफाईनै जीवन भएको भन्दै पूर्ण सरसफाई अभियानमा सहभागि बन्न सबैलाई आग्रह गर्नुभयो । सरसफाई भए मात्रै जीवन स्वस्थ हुने भएकाले सरसफाईलाई प्रतिष्ठा र आयु सँग जोड्नु पर्ने बताउनुभयो ।।
