इन्द्रेणी संवाददाता
घोराही, २७ फागुन । दाङको घोराहीमा शनिवारदेखि जेसीज कप टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । घोराहीको गुलरिया खेल मैदानमा शुरु भएको खेलको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गरेका थिए ।
त्रिभुवननगर जेसीजको आयोजना शुरु भएको उक्त खेलको उद्घाटन गर्दै मेयर चौधरीले खेल क्षेत्र देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण क्षेत्र भएकाले यसलाई विकास गर्न आवश्यक रहेको बताए । उनले यसले मुलुकको आर्थिक, पर्यटन समेतको विकास गर्नेमा टेवा पु¥याउने बताए । उनले जिल्लाको खेलकुदको विकासका लागि उपमहानगरपालिकाले एक वडा एक खेलभन्ने अवधारण पनि ल्याएको बताएका थिए ।
जेसीजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि नेपाल जेसीजका उपाध्यक्ष विजय घिमिरे, घोराही उपमहानगरपालिका वडा नं. १५ काअध्यक्ष रमेश पाण्डे, १७ का अध्यक्ष खुसीराम चौधरी, १३ का रविला घर्ती, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैया, जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुन, जेसीजकी अध्यक्ष डोमा पाण्डेलगायतले आफ्ना विचार राखेका थिए ।
खेल चैत्र ४ गतेसम्म चल्ने छ । खेलमा प्रदेश ५, ६ र ७ का विभिन्न जिल्लाबाट १६ टिम सहभागी रहेको आयोजनकले जनाएको छ । जसमध्ये दाङका चार टिम रहेका छन् भने अरु सबै जिल्ला वाहिरका रहेका छन् । प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख २५ हजार सहित शिल्ड प्रमाणपत्र रहेको छ भने उपविजेता टिमले नगद ५० हजार शिल्ड प्रमाणपत्र पाप्त गर्ने छन् ।











