इन्द्रेणी संवाददाता
तुलसीपुर १६ माघ । फेसबुकमा प्रहरीलाई गालीगलौज गर्ने एक युवालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाको विरुद्धमा सामाजिक सञ्जालमा मनपरी ‘स्ट्याटस’ लेखेको आरोपमा तुलसीपुर १ भमके निवासी १९ वर्षीय आकाश भण्डारीलाई पक्राउ गरिएको हो । ‘श्री पाँच भण्डारी सरकार’को नामबाट फेसबुकमा विभिन्न ‘स्ट्याटस’ लेखेको भन्दै ईलाका प्रहरी कर्याालय तुलसीपुरले उनलाई पक्राउ गरेको हो ।
उनले फेसबुकमा ‘स्ट्याटस’ लेख्दै डिएसपी सापकोटालाई यसअघि तुलसीपुरमा कार्यरत रहँदा लागूऔषधको मुद्दामा मुछिएको तथा कारवाहीमा परेको व्यक्ति भएको आरोप लगाएका छन् । त्यसपछि डिएसपी सापकोटालाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले कारवाही गरेको भएपनि सापकोटा राजनीतिक आडमा बढुवा भएको उल्लेख गरेका छन् । तर डिएसपी सापकोटा तुलसीपुरमा प्रमुखको रूपमा आएपछि कुनैपनि उपलब्धिपूर्ण काम नगरेको तर युवाहरूको कपाल काट्ने र मुन्द्रा छेडाउनेजस्ता काम मात्रै गरेको आरोप लगाएका छन् ।
भण्डारीले डिएसपीमाथि खोलाजन्य वस्तुको निकासीमा मिलेमतो र आर्थिक अनियमितता गरेको भन्ने आशयको आरोप लगाएका छन् । ग्वारखोलामा निकासी हुँदा डिएसपी केही पुलिस लगेर भमके खोलामा जाने गरेको आरोप उनले फेसबुक मार्फत लगाएका थिए । उनले अन्त्यमा ईप्रका प्रमुख सापकोटालाई ठूला माछा समाप्न सल्लाह समेत दिएका थिए । फेसबुकमा मनपरी लेख्ने भण्डारी बुधबार तुलसीपुर बजारबाट पक्राउ परेको ईप्रका प्रमुख सापकोटाले बताए ।