सल्यान , १५ फाल्गुन । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढामगरले प्रचण्ड अहिले १६ हजार सहिदको रगतमा नाचेर बसेको बताएका छन् ।
आज २१ औं बलिदान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी निकटकोे अखिल क्रन्तिकारी सल्यानले बागचौरमा गरेको १७ औँ जिल्ला सम्मेलन कार्यक्रममा बोल्दै उनले १६ हजार सहिदलाई झुटो आश्वासन दिएर प्रचण्ड अहिले महलमा रमाईरहेको बताएका हुन् । उनले भने(”हिजो प्रचण्ड र हामी सँगै युद्व लडेका हौँ, जनताको घरमा सँगै गएका हौँ, समृद्ध देश बनाउछौँ भनेर प्रचण्डले आश्वासन दिदाँ हजारौँ जनताले बलिदान दिए, कयौँ घार्इते भए तर फलस्वरुप आज प्रचण्ड कुर्सीमा रमाए जनता जस्ताको त्यस्तै भए ।” नेता बुढामगरले भने(“हिजो राज्यमा रहेका एमाले(काँग्रेस विरुद्व प्रचण्डको नेतृत्वमा युद्व भयो तर आज उनै प्रचण्ड कहिले काँग्रेस कहिले एमालेको खुट्टा समाउन पुगेका छन् ।”
प्रचण्डले सहिदको सपना लत्याएर गएपनि अब क्रान्तिको नेतृत्व आफुहरुले समाल्ने नेता बुढामगरले बताएका छन् । राज्यले जनतालार्इ गरेको दमनलार्इ आफ्नो नेतृत्वमा जनताले नै प्रतिकार गर्ने उनले बताए । अहिले एमाले(माकेले पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्न खोजे पनि सच्चा कम्युनिस्ट आफुहरु भएको उनले दावि गरेका छन् । कम्युनिस्ट विचार नै नभएकाले ‘नेकपा’ नाम राख्ने प्रयास गरेर आफ्नो जनतालार्इ भड्काउन खोजेको भन्दै उनले त्यस्तोलार्इ आफुहरुले तह लगाउने चेतावनी दिएका छन् । नेपालमा अहिले दुर्इवटा चुसिखाने र गरिखाने वर्ग भएको उनले उल्लेख समेत गरेका छन् । एउटा राज्यको नेतृत्व गरी शासन गरेर चुसिखाने वर्ग र अर्को आफुहरुले नेतृत्व गरेको गरिखाने वर्ग भएको टिप्पनी गरे ।
कार्यक्रममा बोल्दै नेकपाका केन्दिय सदस्य तथा राप्ती ब्युरो सह इन्चार्ज बल बहादुर ओली ‘सितल’ले शान्तिपुर्न आमसभा गरिरहेको समयमा ओली सरकारले आफ्ना नेता कार्यक्रर्तालार्इ पक्राउ गरेको भन्दै आपत्ती जनाएका छन् । उनले अब केपी ओलीका जनप्रतिनिधीहरुले राजिनामा नदिए आफुहरुले कारबाही गर्ने चेतावनी दिएका छन् । आफुहरुले केहि स्थानीय तहमा राजिनामाको माग गर्दै पत्र पठाएको र केहि तहमा अब पठाउने भन्दै आफ्नो मागलार्इ वास्ता नगरे त्यही अनुसारको कारबाही गरिने चेतावनी दिएका हुन् ।
कार्यक्रममा जिल्लका विभिन्न ठाउँबाट सहभागी भएका करिब ५० जना भन्दा बढी सहिदका परिवारलार्इ सम्मान गरिएको छ । कार्यक्रमलार्इ सामना र जलजला परिवारका कलाकारहरुले रौनक बनाएका थिए ।
