उदय बीसी
दाङ, १४ फागुन । दाङमा वर्षेनी खेतीयोग्य जमिन खण्डिकरण हुँदैछ । विशेष गरी वसोवास क्षेत्रका लागि प्लटिङ गरेर खेतीयोग्य जमिन खण्डिकरण भइरहेको छ ।

palating (innndजिल्ला कृषि विकास कार्यालय दाङको तथ्याङअनुसार वर्षेनी जिल्लामा तीनदेखि पाँच प्रतिशतको दरले खेतीयोग्य जमिन मासिदै गएको छ । सहरदेखि गाउँसम्म घडेरीका लागि प्लटिङ हुने गरेको कृषि विकास कार्यालयको भनाइ छ ।
‘विशेष गरी घडेरीको नाममा खेतीयोग्य जमिन प्लटिङ भइरहेको छ’, जिल्ला कृषि विकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीले भने, ‘खेतीका लागि उपयुक्त जमिन मासेर वसोवास विस्तार गर्नु राम्रो मानिदैन ।’

कृषि विकास कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा कहाँ कति खेतीयोग्य जमिन मासिएको छ भनेर सर्भे पनि गरेको छ । जसअनुसार एकैवर्षमा मात्रै एक हजार ८७ हेक्टर खेतीयोग्य जमिन प्लटिङ भएको देखिएको छ । सर्भेमा वाह्रै महिना सिंचाइँ सुविधा हुने गनारी खेतहरु पनि प्लटिङ गरिएको पाइएको छ । ‘वाह्रै महिना पानी लाग्ने गनारी खेत पनि प्लटिङ भएका छन्, तर यसलाई रोक्ने कुनै निकाय छैन’, योजना अधिकृत केसीले भने ।

त्यस्तै सर्भेको तथ्याङअनुसार एक हजार तीन सय १० हेक्टर खेत बाँझो छ भने एक हजार ६ सय ७८ हेक्टर वारी बाँझै छ । त्यस्तै पाँच सय ७५ हेक्टर जमिन उद्योगले ओगटेको छ भने एक हजार ११ हेक्टर जमिन नदीले कटान गरेको तथ्याङमा उल्लेख छ ।

जिल्लामा वर्षेनी हजारौं खेतीयोग्य जमिन घडेरीमा परिनत हुँदा समेत यसलाई नियन्त्रण गर्ने निकाय खासै छैन । जिल्लामा कृषि क्षेत्रमा काम गर्ने सबैभन्दा ठूलो कार्यालय जिल्ला कृषि विकास कार्यालयलाई समेत जथाभावि प्लटिङ रोक्ने कानुनी अधिकार छैन । कृषि विकास कार्यालयको काम भनेको विभिन्न क्षेत्रबाट तयार पारिएका प्रविधिहरुलाई कृषकहरुसम्म लैजाने मात्रै अधिकार छ ।

कृषि कार्यालयको तथ्याङकमा जिल्लामा ६९ हजार ९ सय ५० हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये ६५ हजार ९ सय ८० हेक्टर जमिनमा खेती गरिदै आएको छ । नेपाल कृषि प्रदान मुलक भएकाले यसरी कृषि योग्य जमिन खण्डिकरण हुनुले भविश्यमा कसैलाई पनि फाइदा नगर्ने कृषि विज्ञहरु बताउछन् । जथाभावि प्लटिङ गर्नुले खेतीयोग्य जमिन मासिदै जाने र यस्तो कार्यले केही व्यक्तिलाई क्षणिक फाइदा गरेपनि समग्र मुलुक र जनतालाई फाइदा नगर्ने उनीहरुको भनाइ छ । यसलाई राज्यले समयमा नियन्त्रण समेत गर्न आवश्यक रहेको विज्ञहरुको धारणा छ ।