इन्द्रेणी संवाददाता
काठमाडौं, १३ फागुन । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री लालबाबु पण्डितले वातावरणीय मूल्याङ्कन नगर्ने होटल, अस्पताल र उद्योगमाथि कारबाही थालेका छन् ।
उनले नियम मिचेर पूर्वाधार विस्तार गर्ने सोल्टी होटल, सिटी होटल, द्वारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारवाही शुरु गरेका छन् ।
कारवाही स्वरुप ती होटलले वातावरणीय मूल्याङ्कन नगरी होटल सञ्चालन तथा पूर्वाधार विस्तार गरेको भन्दै मन्त्री पण्डितले प्रतिहोटल एक–एक लाख रुपैयाँ जरिवाना गरेका छन् ।
त्यस्तै अरनिको आबु सिमेन्टले दाङको सतबरियामा सिमेन्ट उद्योग खोल्न वातावरणीय मूल्याङ्कन गरेर तनहुँमा सिमेन्ट उद्योग चलाएको भन्दै ५० हजार जरिवाना गरिएको छ ।
वातावरणीय मूल्याङ्कन नगर्ने कमला रोलिङ प्रालि र काठमाडौं दूध वितरण आयोजना बालाजुलाई पनि ५० हजार जरिवना गरिएको छ । तोकिएको मापदण्ड छिट्टै पूरा नगरे थप कारवाही हुने आलोमले जानकारी दिए ।
मन्त्री पण्डितले नेपाल नेशनल अस्पताल काठमाडौं, अन्तराष्ट्रिय मैत्री बाल अस्पताल, काठमाडौं मोडेल अस्पताल र काठमाडौं अस्पताल त्रिपुरेश्वरलाई कारवाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् ।
