इन्द्रेणी संवाददाता
दाङ,१३ फागुन । केही दिन अघि एक निर्माण कम्पनीले आफूबाट ६० हजार रुपैयाँ घुस लिएको भन्दै आरोप लगाएका पत्रकार गणेश आचार्य न्याय खोज्दै अदालतसम्म पुगेका छन् ।
पत्रकार आचार्यले आफूमाथि गलत आरोप लगाउने मामा भान्जा निर्माण सेवाका प्रोप्राइटर प्रकाश केसी सहित ५ जना विरुद्ध आज दाङ देउखुरी जिल्ला अदालतमा लिखत रुपमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्। आचार्यले केसी सहित भानुबिक्रम राणा, दिनेशजंग शाह,संजात धिताल र सुरेन्द्र हमाललाई कानुनी कार्वाहीको माग गर्दै मुद्दा दर्ता गराएको बताएका छन् ।
अदालतमा दर्ता गरिएको फिराद पत्रमा भनिएको छ,‘ विपक्षीहरुले आपसी सल्लाह मिलेमतो गरी मेरो व्यक्तिगत चरित्र तथा मेरो स्वतन्त्र पेश पत्रकारीतामा माथी नै धावा वाल्ने गरी प्रेस विज्ञप्ती लेखी दाङ घोराहीबाट प्रकाशन हुने पत्रिका गोरक्ष राष्ट्रिय दैनिकको मिति २०७४/११/११ गतेको पत्रिकामा प्रकाशित गरी सामाजिक रुपमा मेरो इज्जतमा धक्का पु¥याउने नियत राखी जानी जानी मलाई वदनाम गराउने उद्देश्यले लिखित प्रेस विज्ञप्ती जारी गरी गोरक्ष राष्ट्रिय दैनिक लगायतका संचार माध्यायमा समाचार प्रकाशन प्रशारण गरी सामाजिक रुपमा मेरो वेइज्जती गरेकाले म साह्रै अन्यायमा परी अन्य कुनै विकल्प नरहे नभएकाले न्यायका खातिर यस सम्मानित अदालतको शरणमा आएको छु । विपक्षीहरुलाई हदैसम्मको दण्ड सजाय गरी हक ईन्साफ गरी पाँउ ।’
लिखत गाली बेइज्जती मुद्दामा विपक्षी बनाइएकाहरु दोषी ठहर भए जनही ५ हजार रुपैयाँ जरीवाना र २ बर्षसम्म कैद हुने कानुनी प्राबधान रहेको छ । साथै पत्रकार आचार्यले सैघाली खबर डटकम अनलाइनले फेक भिडियो बनाएर आफ्नो बदनाम गराएको भन्दै त्यस विरुद्ध पनि मुद्दा दर्ता गराउने तयारी रहेको बताएका छन् ।