सिन्धुपाल्चोक, १३ फागुन । चार वर्षभित्र सम्पन्न गर्नेगरी सुरु गरिएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको ६ वर्षमा जम्मा ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजनाको व्यवस्थापकीय कमजोरीका कारण आयोजनाले गति लिन नसकेको हो ।
सिन्धुपाल्चोकको हालसम्मकै बढी ९१ सय २० मेगावाट० को यो आयोजना विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा सुरु भएको थियो । देशलाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरिरहेका घिसिङको अग्रसरतामा यो आयोजना सुरु भए पनि अहिले उनी प्राधिकरणका प्रमुख हुँदा पनि यो आयोजनालाई समयमा सम्पन्न गर्न चासो नदिएको स्थानीयको आरोप छ ।
सन् २०१३ मा निर्माण सुरु भई सन् २०१७ को जुनमा आयोजना सक्ने योजनाका साथ काम सुरु भए पनि भूकम्प, नाकाबन्दी र भोटेकोसी बाढीका कारण आयोजनाको म्याद थपिएर सन् २०१९ को जुनसम्म पुगेको छ । चिलिमे मोडलमा निर्माण हुन लागेको यो आयोजनामा स्थानीयलाई समेत सेयर दिएर निर्माण गर्न लागे पनि आयोजनाकै कारण ढिलाइ भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा बताउँछन् ।
साबिकको मार्मिङ गाविसको चाकु दोभानबाट भोटेकोसी र चाकु नदीको पानी सुरुङभित्र हालेर ७ दशमलव २ किलोमिटर सुरुङबाट गातीको जम्बुमा पावरहाउस निर्माण हुनेछ । ब्याजसहित साढे १४ अर्बको लगानीमा निर्माण हुने मध्यभोटेकोसी आयोजनालाई चाहिने आवश्यक रकम कर्मचारी सञ्चयकोषसहित नेपाल विद्युत् प्राधिकरण स्थानीयस्तरका हाइड्रोपावरलगायतबाट जम्मा गरिने योजना छ ।
आयोजनाको मुख्य सुरुङ निर्माणको जिम्मा चिनियाँ ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले पाएको छ । झन्डै ८ अर्बमा चिनियाँ कम्पनीले सुरुङ र पावरहाउस निर्माणको ठेक्का पाएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाले जानकारी दिएको छ ।
चिलिमे जलविद्युत् आयोजनाअन्तर्गत मध्यभोटेकोसी जलविद्युत् आयोजनाले निर्माण सुरु गरेको मध्यभोटेकोसी आयोजना सुरुदेखि नै विवाद र समस्यामा पर्दै आएको छ । राजधानीमा दिनेश थापा लेख्छन्- भोटेकोसी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न नहुने पर्यटन व्यवसायीको मागका बीच स्थानीयको दबाबमा आयोजना सुरु भएको थियो ।
आयोजनाले स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्दै काम सुरु गरे पनि जुरे पहिरो, भूकम्प, भोटेकोसीको बाढी र भारतीय नाकाबन्दीको कारण देखाउँदै निर्धारित मितिमा काम सम्पन्न गर्न सकेन । ‘निर्धारित मितिमा काम सम्पन्न नसकेपछि २०१९ जुनसम्म म्याद थप भएको छ,’ मध्यभोटेकोसी जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्लेले भने । थपिएको समयमा पनि काम सम्पन्न हुनेमा आयोजनासमेत ढुक्क छैन । ठेकेदारका कारण भनेजस्तो नतिजा निकाल्न नसकेको कम्पनीको आरोप छ । चिनियाँ पक्षले भने आयोजनाकै कारण समस्या भइरहेको बताएको छ । ‘हामी छिटो काम सक्ने पक्षमा छौं तर आयोजनाले वास्तै गर्दैन,’ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका एक प्रतिनिधिले भने ।
आयोजना कस्तो बन्ने हो त्यसको डिजाइन नै अहिलेसम्म आयोजनाले फाइनल गर्न सकेको छैन । डिजाइन फाइनल नहुँदा चिनियाँ ठेकेदारलाई काम गर्नसमेत समस्या भएको छ । मध्यभोटेकोसी जलविद्युत् आयोजनाले आयोजना डिजाइनका लागि इन्जिनियर विजयलाल श्रेष्ठलाई जिम्मा दिएको थियो । तर, डिजाइनर श्रेष्ठ भने आयोजनाअन्तर्गतका विभिन्न ठेकेदार र सामग्री सप्लायर्ससँग ‘कमिसन’ माग्नमा नै व्यस्त भएको बाह्रबिसे नगरपालिकाका प्रमुख एवं स्थानीय सरोकार समितिका प्रमुख निमफुञ्जो शेर्पाको आरोप छ ।
मध्यभोटेकोसी जलविद्युत् आयोजनाले स्थानीय तहसँग कुनै समन्वय नगरेको प्रमुख शेर्पाले बताए । साबिकको गाती, मार्मिङ, मानेस्वाँर र लिस्ती आयोजनाको मुख्य प्रभावित गाविस हो । आयोजनाको मुख्य प्रभावित गातीका स्थानीयसमेत रहेका शेर्पाले आफू आयोजना छिटो सक्नुपर्ने पक्षमा भए पनि आयोजनाले बेवास्ता गरेको उनी बताउँछन् ।
आयोजना प्रभावित वडामा आयोजनाले वार्षिक २ करोड दिने सहमति गरेको थियो । सामुदायिक विकासका लागि आयोजनाले यो रकम दिने भने पनि अहिलेसम्म १ करोड मात्रै रकम पठाएको बाह्रबिसे नगरपालिकाले जनाएको छ । स्थानीय निकायमा मात्रै होइन स्थानीयवासीले तारजाली, मेसिनरी वाललगायत काम गरेको रकम पनि आयोजनाले अहिलेसम्म भुक्तानी नगरेको स्थानीय सुप्पा श्रेष्ठले जानकारी दिए । आयोजनाका कार्यकारी निर्देशक काफ्ले भने निर्वाध रूपमा काम भए थपिएको समयमा आयोजना सम्पन्न हुने बताउँछन् ।
