काठमाडौं, १३ फागुन । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएका छन् । दुवै वाम पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा आपसी समझदारीमा टुंग्याइएको दुवै पार्टी नेताहरूले बताएका छन् ।
‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबन्डा भइसकेको छ’, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘राष्ट्रपति एमालेलाई र सभामुख माओवादीले लिने समझदारी भएको छ ।’ एमाले-माओवादी केन्द्रबीच एमालेलाई राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, १० वटा मन्त्रालय र माओवादी केन्द्रलाई उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभा उपाध्यक्ष र ७ वटा मन्त्रालय दिने समझदारी छ ।
यो सहमति एमाले(माओवादीका दुई अध्यक्षदेखि वाम एकता संयोजन समितिका शीर्ष नेताहरूबीच भएको नेताहरूको भनाइ छ । अन्नपूर्णमा खबर छ- दुई दलबीच भएका सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गर्न पठाएका ३ जनाको सिफारिस फिर्ता लिँदै एमालेका २ र माओवादीका १ जना सिफारिस गर्नेसम्मका समझदारी थिए । सोही समझदारीका आधारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा ३ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले राष्ट्रियसभामा मनोनित गरिदिएपछि देउवा सरकारले सिफारिस गरेका तीन जना अदालत गुहार्न पुगेका छन् ।
एमाले(माओवादीबीच ओली सरकारलाई दुई तिहाइ सांसदको समर्थनयुक्त सरकार बनाउन पनि प्रयास भइरहेको छ । यसका लागि संघीय फोरमलाई सरकारमा ल्याउन पदीय बाँडफाँटमा सहमति प्रयास जारी छ । फोरमलाई प्रतिनिधिसभाको उपसभामुख र बढीमा दुई वटा मन्त्रालय दिएर सरकारमा सामेल गर्ने प्रयासमा एमाले(माओवादीले छलफल गरिरहेका छन् ।
एमाले
-राष्ट्रपति
-प्रधानमन्त्री
-राष्ट्रियसभा अध्यक्ष
-प्रधानमन्त्रीसहित ११ वटा मन्त्रालय
-राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये २ जना
माओवादी
-उपराष्ट्रपति
-प्रतिनिधिसभा सभामुख
-राष्ट्रियसभा उपाध्यक्ष
– ७ वटा मन्त्रालय
-राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये १ जना
संघीय समाजवादी फोरम (सरकारमा सहभागी भए मात्र)
– प्रतिनिधिसभा उपाध्यक्ष
– २ वटासम्म मन्त्रालय











