काठमाडौंँ, ९ फागुन । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा हिजो तीन जनालाई मनोनीत गर्नुभएको छ । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले राष्ट्रिय सभामा मनोनित गर्न तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
बैठकले पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा, आयोगका पूर्व सदस्य विमला पौडेल र पूर्व सांसद् रामनारायण विडारीलाई सिफारिस गरेको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका तीन जनाको नाम फिर्ता गरेर सरकारले नयाँ नाम सिफारिस गरेको हो । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले सरकारले तीन जनाको सिफारिश फिर्ता गरेर नयाँ नाम पठाइएको बताए । देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम मनोयनका लागि सिफारिस गरेको थियो ।
तर ती नाम दलीय सहमति अनुसार नआएको भन्दै राष्ट्रपतिले मनोनीत नगर्नुभएको बताइएको छ । राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभाका तीन सदस्यमध्ये डा। खतिवडा र पौडेल नेकपा एमालेको कोटामा पर्नुभएको हो भने विडारी नेकपा माओवादी केन्द्रको कोटामा आउनुभएको हो । यो मनोनयनसँगै राष्ट्रियसभाले पूर्णता पाएको छ ।
