चितवन, ९ फागुन । नेकपा एमाले अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आगामी पाँच वर्ष नै प्रधानमन्त्री रहने भएका छन् ।

KP-वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको आधारभूत विषयमा सहमति गरेसँगै ओली पाँच वर्ष प्रधानमन्त्री रहने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि पाँचै वर्ष एकीकृत पार्टीको अध्यक्ष रहने भएका छन् ।

महाधिवेशनसम्म ओली र दाहाल दुवै पार्टी नेतृत्वमा रहनेछन् भने महाधिवेशनपछि चुनावी प्रतिस्पर्धा नगरी दाहाल एकीकृत पार्टीको अध्यक्ष छानिने भएका छन् ।

दुई दलका शीर्ष नेताले सोमबार हस्ताक्षर गरेको एकताका आधारपत्रको सातौं नम्बरमा आगामी महाधिवेशन एकताको महाधिवेशनका रूपमा समझदारीका साथ सम्पन्न गर्ने उल्लेख छ । एकताको आधारपत्रमा नै आगामी महाधिवेशन ‘समझदारी’का रूपमा गर्ने सहमति गरेर दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबिनै दाहाललाई अध्यक्ष हुने बाटो खुला गरिएको हो ।

दुई पार्टीबीच एकताका आधारहरू नामक सातबुँदे सहमतिमा सरकार र पार्टी नेतृत्वको विषय उल्लेख गरिएको छैन । तर, शीर्ष नेतृत्वमा पाँच वर्ष नै ओली प्रधानमन्त्री र दाहाल अध्यक्ष रहने ‘जेन्टल एग्रिमेन्ट’ भएको हो ।

माओवादी अध्यक्ष दाहालले नै ओली पाँच वर्षका लागि प्रधानमन्त्री भएको बताइसकेका छन् । ‘अहिलेलाई केपी ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री हो, थप विषय महाधिवेशनले नै टुंग्याउँछ,’ दुई पार्टीबीच एकीकृत नयाँ पार्टीको नाम, सिद्धान्तलगायत विषयमा सहमति गरेको भोलिपल्ट ९मंगलबार० चितवन पुगेका दाहालले भने ।

दुई वर्षभित्र महाधिवेशन गरिने बताउँदै उनले महाधिवेशनसम्म पार्टीको अध्यक्ष दुवै जना रहनेसमेत खुलाए । ‘सैद्धान्तिक र राजनीतिक हिसाबले केपी ओली र म दुवै नयाँ पार्टीको अध्यक्ष भएका छौं,’ उनले भने, ‘सैद्धान्तिक, राजनीतिक र व्यावहारिक अर्थमा हामी नेपाल कम्युनिस्ट पार्टी भइसक्यौं ।’

यसअघि दुई अध्यक्षबीच साढे दुई–दुई वर्ष सरकारको नेतृत्व आलोपालो गर्ने छलफल चलाएका थिए । तर, अब भने दुई वर्षमा महाधिवेशन सम्पन्न गर्ने र त्यसपछि दाहाल सर्वसम्मत एकीकृत पार्टीको अध्यक्ष हुने र ओलीले निरन्तर पाँच वर्ष सरकार चलाउने भएका छन् । महाधिवेशनमार्फत दाहाल सर्वसम्मत अध्यक्ष चुनिएपछि उनले एकीकृत पार्टीको नेतृत्व गर्नेछन् भने ओलीले बाँकी पाँचवर्षे अवधिभर सरकारको नेतृत्व गर्नेगरी दुई अध्यक्ष तहमा समझदारी छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले दुवै पार्टी एक भएकाले अब आलोपालो प्रधानमन्त्री नहुने बताए । ‘अब पार्टी एकता भइसक्यो, दुवै पार्टी एउटै हो नि, एउटै पार्टी भएपछि कसरी आलोपालो हुन्छ रु बरू कार्यविभाजन हुन सक्छ,’ राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भने ।
माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेलले निर्वाचनमा स्थायी नेतृत्व दिने भनिएको र पार्टी एउटै भएपछि पाँचै वर्ष ओलीले नै सरकारको नेतृत्व गर्ने निर्णय गर्न सकिने बताउँछन् । ‘एउटै पार्टी भएपछि पार्टी पंक्तिबाट निर्णय गरेर जान सकिन्छ, पाँचै वर्ष उहाँले नै सरकारको नेतृत्व गर्ने भनेर पार्टीले निर्णय गर्न पनि सक्छ,’ उनले राजधानीसँग भने ।

यस्तो छ मन्त्रालयको भागबन्डा, १९ मन्त्रालयको तयारी
गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ६०÷४० र गत माघमा सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा ७०÷३० को भागबन्डा गरेर निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्र मन्त्रालय भागबन्डामा जुटेका छन् ।

दुई दलले आज ९बुधबार० छलफल गरेर मन्त्रालय बागबन्डा टुंगो लगाउने तयारी गरेका छन् । यसअघि १५ मन्त्रालय बनाएर जाने तयारी गरेका दुई दलले पछिल्लो समय १९ वटा मन्त्रालय बनाउने तयारी गरेका छन् । दुई दलले संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।

प्रारम्भिक चरणमा १९ मन्त्रालय बनाउने र त्यसमा १० एमाले, ७ माओवादी र २ फोरमका लागि रहनेगरी प्रारम्भिक छलफल भइरहेको छ । मन्त्रालयको भागबन्डा भने अझै टुंगोमा पुगेको छैन । माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेलले आज दुई दलबीच छलफल गरेर टुंगो लगाउने जानकारी दिए । अर्का सचिवालय सदस्य मातृका यादवले मन्त्रालय भागबन्डामा छलफल हुन बाँकी रहेको जानकारी दिँदै आजभोलि नै टुंगो लगाइने बताए ।

माओवादीबाट थापाको नेतृत्व
नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व पार्टी वरिष्ठ नेता रामबहादुर थापाले गर्ने भएका छन् । बुधबार ९आज० पार्टी विस्तारित सचिवालय सदस्यको बैठकले सरकारमा सहभागिता जनाउने मन्त्रीहरू तथा नेतृत्वको टुंगो लगाउँदै छ ।

माओवादी एक सचिवालय सदस्यका अनुसार थापाको नेतृत्वमा सरकारमा पठाउनेगरी छलफल भइरहेको छ । पार्टी अध्यक्षपछि संसद्मा थापा दोस्रो वरीयतामा रहेकाले उनकै नेतृत्वमा सरकारमा पठाउने तयारी माओवादीले गरेको हो । थापा राष्ट्रिय सभाबाट निर्वाचित सांसद हुन् । संविधानमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनका सदस्य मन्त्री हुन पाउने प्रावधान छ । उनी पूर्व रक्षामन्त्रीसमेत हुन् । पार्टी प्रवक्ता पम्फा भुसालले भने अहिलेसम्म कसको नेतृत्वमा र क–कसलाई पठाउने भन्ने निर्णय नभएको र बैठकमा छलफल गरेर टुंगो लगाइने बताइन् ।

माओवादी स्रोतका अनुसार थापालाई उपप्रधानसहित कुनै मन्त्रालयमा पार्टीबाट सरकारको नेतृत्व गरेर पठाउने तयारी छ । माओवादीले गृह मन्त्रालय पाउने भए पनि गृहमा भने थापाभन्दा बाहेकका व्यक्ति जाने सम्भावना छ । माओवादीबाट आज ९बुधबार० कम्तीमा पनि दुई जना मन्त्री सरकारमा सहभागी हुँदै छन् । अध्यक्ष दाहालले मंगलबार नै दुई जना माओवादी मन्त्री सरकारमा पठाउने बताएका थिए । स्रोतका अनुसार थापा र मातृका यादव आज सरकारमा सहभागी हुने सम्भावना छ । माओवादी केन्द्रको समर्थनमा गत ३ फागुनमा प्रधानमन्त्री नियुक्ति भएका एमाले अध्यक्ष केपी ओलीले आज दोस्रोपटक मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।राजधानीबाट