इन्द्रेणी संवाददाता
काठमाण्डौ, ९ असार
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुको सम्पत्तिको खोजी सुरु भएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक हुँ भन्दै ठगी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका ३६ जनाको बिगो कायम गर्न प्रहरीले सम्पत्तिको खोजी सुरु गरेको हो ।
अनुसन्धानमा संलग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूको सम्पत्ति विवरण संकलन सुरु गरेको हो । गत माघमा पक्राउ परेका १७ चिकित्सकले नक्कली चिकित्सकका रूपमा काम गरी ठगी गरेको रकम नखुलाउँदा १६ जना न्यून धरौटीमा मुक्त भएका थिए ।
दोस्रो अपरेसनमा पक्राउ परेकाहरूले गरेको ठगीको रकम नखुलाउंँदा सामान्य धरौटीमा मुक्त हुने देखिएपछि प्रहरीले उनीहरू चिकित्सक भएपछि आर्जन गरेको सम्पत्तिको विवरण संकलन थालेको हो । ब्युरो प्रमुख डीआईजी नवराज सिलवालका अनुसार पक्राउ परेका चिकित्सकमाथिको अभियोग पुष्टिका लागि चार तहको प्रमाण संकलन भइरहेको छ ।।