काठमाडौं,७ असार । अफ्गानिस्तानको राजधानी काबुलमा आतंकवादी समूहले गरेको आत्मघाति आक्रमणमा नेपालीको मृत्यु र घाईते भएको घटनाप्रति उपराष्ट्रपति नन्दबहादुर पुनले गहिरो दुःख व्यक्त गरेका छन् । रोजगारीको सिलसिलामा काबुल पुगेका निहत्था निर्दोष नेपाली नारिकमाथि भएको उक्त मानवता विरोधी घटनाको उपराष्ट्रपतिले घोर भ्रत्र्सना र निन्दा गरेका हुन् ।
उपराष्ट्रपति पुनले उक्त हमलामा परि ज्यान गुमाउने नेपाली नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घटनामा ज्यान गुमाउनेका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । घटनामा घाइते भएका नेपाली नागरिकको शिघ्र स्वास्थ लाभको कामनासमेत गरेका छन् ।
विज्ञप्ति जारी गर्दै उनले निहत्था नेपाली नागरिकलाई निशाना बनाएर हमला गर्ने आततायीहरुलाई कानुनको दायरामा ल्याउन विश्व नै एकजुट हुनुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षाका लागि नेपाल सरकार र अफगान सरकारको ध्यानाकर्षण गराउनुहँदै त्यहाँ कार्यरत नेपालीहरुलाई आफ्नो सुरक्षाप्रति सचेत रहनसमेत अनुरोध गरेका छन् ।
साथै उपराष्ट्रपति पुनले काबुल हमलामा दिवंगत नेपालीहरुको पार्थिव शरिरलाई तुरुन्तै नेपाल ल्याउन र घाईतेहरुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।